पर्वतको धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटलाई पर्यटनको गन्तव्यको रुपमा विकास गरिने

पर्वत । पर्वतको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटलाई पर्यटनको गन्तव्यको रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि काम अघि बढाएको हो । जिल्लाकै ऐतिहासिक स्थल दुर्लुङकोटमा मल्लकालीन राजाहरुको दरबार रहेको थियो । दरवार परिसरमा हतियार राख्ने र धार्मिक विधि अनुसार पुजाआजा गर्ने राजाहरुको परम्परालाई यहाँका स्थानीयहरुले अझै पनि निरन्तरता दिदै आइरहेका छन । उक्त कोटमा बडादशै, चैत्रे दशै र जेष्ठ अष्टमीका दिनमा भब्य पुजाआजा हुने गर्दछ । मल्लकालिन राज्य देखिको सभ्यता बोकेको दुर्लुङकोटको पर्यटकीय सम्भावनाको विकास गर्ने उद्दे्रश्यका साथ गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कँडेल सहितको टोली गन्तव्य पहिचानका लागि अध्ययन गरेको छ । आइतवार दिउँसो दुर्लुङकोट पुगेको टोलीमा पोखरा पर्यटन परिषद, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का पदाधिकारी सहित कुश्मा नगरपालिका र नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सहितको सहभागिता रहेको थियो । मन्त्री कंडेलले गण्डकी प्रदेशलाई पर्यटनको मुख्य गनत्व्य बनाउन सरकारले प्रर्याप्त मिहेनत गरेको बताउनुभयो । पोखरामा मात्रै केन्द्रित रहेको पर्यटनलाई जिल्लाजिल्लामा फैलाउन कोसिस भैरहेको भन्दै पर्यटकीय स्थलहरुको उजागर गर्ने काममा मन्त्रालय लागेको बताउनुभएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा रहेको यो कोटवाट गण्डकी प्रदेशका बागलुङ, कास्की, म्याग्दी, गुल्मी, स्याङजा र पर्वतका विभिन्न भागको अवलकोलन गर्न मिल्ने सकिन्छ । यहाँ टावर १८ फिट चौडाई र २० फिट अग्लो भ्ुयू टावर समेत निर्माण गरिएको छ । सदरमुकाम कुश्मा बजार देखि यातायातको सहज सुविधा भएका कारण उक्त क्षेत्रमा आउने पर्यटकहरु बर्षेनी बढदै गइरहेका कारण यो क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न सकिने पर्यटन मन्त्री मणिभद्र कँडेलले बताउनुभयो । यहाँ दुर्लुङकोट सँगै चनौटे गाउँको तामाखानी गुफा, क्यानोनिङ, चनौटे होमस्टे तथा आम्वोट–दुर्लुङ्ग–हलहले–क्याङ–घोरेपानी पदमार्ग समेत अवस्थित रहेको छ । गुरुङ समुदायको बस्ती रहेको दुर्लुङमा पर्यटनको गन्तव्यको रुपमा विकास गर्नका लागि नगरपालिकाले आवश्यक सहजीकरण गर्दै आएको नगरप्रमुख रामचन्द्र जोशीको भनाई रहेको छ । उहाँले पर्वतमा बन्जिजम्प, जीपलाईन, क्यानोनिङ, पदमार्गा, होमस्टे लगायतका पूर्वाधार रहेको भन्दै साहसिक पर्यटनको विकासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । कुश्मा नगरपालिका पर्यटनको विकासमा जुटेको जोशीले बताउनुभयो ।

Back to top button