पोखरामा असोज पहिलो साता ‘राइट टु प्रोटिन रन’,चार हजार बढी दौडिदै

पोखरामा आगामी असोज ३ गते पहिलोपटक ‘राइट टु प्रोटिन रन’ हुने भएको छ । नेपाल फिड इन्डष्ट्रिज एसोसिएसनले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरेर खेलकुदमार्फत प्रोटिनसम्बन्धी जनचेतना फैलाउँदै स्वास्थ्य, पर्यटन र कृषिलाई जोड्ने उद्देश्यसहित ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण गर्न लागिएको जनाएको छ ।

प्रतियोगितामा आठ विधामा प्रतिस्पर्धा हुने र कुल रु १६ लाख पुरस्कार प्रदान गरिनेछ । यसैगरी विभिन्न विधामा गरी चार हजारभन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक समेज राजभण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार यसअघि प्रतियोगिताका चारवटै संस्करण काठमाडौँमा आयोजना गरिएकामा यसपटक पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने दौड बसुन्धरा पार्क–हल्लनचोक–खहरे–सेदी–खपौदी–पामे हुँदै पुनः बसुन्धरा पार्कमै आएर टुङ्गिने छ ।
प्रतियोगितामा पुरुष तथा महिला हाफ म्याराथन (२१ किलोमिटर), पुरुष १० किलोमिटर खुला दौड, महिला पाँच किलोमिटर खुला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि युवा दौड, तीन किलोमिटर दौड तथा पुरुष र महिला ह्विलचेयर दौड गरी आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक विधाका उत्कृष्ट पाँच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

हाफ म्याराथनतर्फ महिला तथा पुरुष दुवै विधाका पहिलोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः जनही रु एक लाख ५० हजार, रु एक लाख, रु ५० हजार, रु ३० हजार र रु २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

‘राइट टु प्रोटिन रन’ प्रोटिन र सन्तुलित पोषणबारे राष्ट्रियस्तरमा जनचेतना फैलाउने अभियानका रूपमा अघि बढाइएको यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलका कन्ट्री म्यानेजर डा अशेष भट्टराईले बताउनुभयो ।

“विशेषगरी युवा, विद्यालय तथा विद्यार्थी, खेलाडी, महिला र परिवारमा दैनिक आवश्यक पर्ने प्रोटिनको मात्रा र सुलभ प्रोटिनका स्रोतबारे जानकारी बढाउन यो कार्यक्रम फलदायी हुँदै आएको छ ।” डा भट्टराईले भन्नुभयो । उहाँका अनुसार नेपालमा शरीरलाई आवश्यक पर्ने प्रोटिनको मात्रा, यसको गुणस्तर र उपलब्ध स्रोतबारे पर्याप्त जनचेतना नभएकाले यस्ता कार्यक्रमले पोषणसम्बन्धी जानकारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

Back to top button