एमालेले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठनको गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेका छन् । समर्थन फिर्ता लिएको पत्रसँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि बुधबार नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

एमालेबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी शाह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेती सरकारमा सहभागी भएका थिए ।

उनीहरुले बुधबार बालुवाटारमा एक एक गर्दै प्रधानमन्त्रीलाई राजीनामा बुझाए । राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले बिहीबार स्वीकृत गर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।

सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् । मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन पनि आग्रह गरेको छ ।

Back to top button