बागलुङ महोत्सव शुरु -संविधान कसैले निमोठ्न सक्दैन : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको रगत र पसिना बगाएर बनाएको संविधान कसैले निमोठ्न नसक्ने बताएका छन् । लाखौं नेपालीको आन्दोलनबाट स्थापित संविधानलाई सदुपयोग गर्ने र देश विकास गर्ने जिम्मेवारी सबैले बहन गर्नुपर्ने बताए ।संविधान लेखनका क्रममा गरिएका संघर्ष र बलिदानले अहिलेको गणतन्त्र संस्थागत गर्नसमेत पहल गर्नुपर्ने बताए । उनले राजनीतिक परिवर्तन जस्तै देशमा अर्थतन्त्रको सुधार, प्रविधिको प्रयोग र उद्योगको विकासमा जोड दिनुपर्ने बताए ।

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं बागलुङ महोत्सव उद्घाटन गर्न बुधबार आएका पौडेलले स्थानीय परम्पराको संरक्षण गर्दै घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले नागरिकको प्रतिस्पर्धात्मक र प्रविधिमा सुधार गरेर पूर्वाधार निर्माण, मेसिनरी प्रतिस्थापन तथा लघु घरेलु उद्योगको बजार प्रवर्द्धन गर्नुपर्ने बताए ।राष्ट्रपति पौडेलले हरित अर्थतन्त्रमार्फत समृद्धिको मार्ग खोज्नुपर्ने बताए । उनले वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूलन तथा असर न्यूनीकरणलाई ध्यान दिएर विकास गर्नुपर्ने बताए ।

स्थानीय स्तर, निजी क्षेत्र र सरकारी क्षेत्रले पनि ध्यान दिनुपर्ने पौडेलको जोड थियो । पौडेलले वातावरण संरक्षण नभएमा देखिएका हिमशृंखला नष्ट हुने खतरा बढेको औंल्याए । ‘यी देखिएका हिमशृंखला जोगाउन हामीले होस पुर्‍याएनौं भने भोलि नरहन पनि सक्छन्,’ उनले भने, ‘त्यो बेलाको हामी कल्पना पनि गर्न सक्दैनौं ।’ उनले विकाससँगै वातावरण संरक्षणका काम थाल्न आग्रह गरे ।नेपालको विकास साना तथा घरेलु उद्योगबाटै सम्भव हुने उनको तर्क थियो । लघु घरेलु तथा साना उद्योगलाई बजार प्रवर्द्धन गर्न सकेमा साना साना व्यवसायीमाथि उठ्ने भन्दै महोत्सवमा ती विषयमा ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

क्रेता र विक्रेता एकै ठाउँ जम्मा हुने अवसर सदुपयोग गर्दै वस्तुको उत्पादन र बजारीकरणमा महोत्सवको सफलताको कामना पनि गरे । ‘स्थानीय रोजगारी र बजारीकरणमा महोत्सव सफल हुनुपर्छ,’ पौडेलले भने ।पौडेलले गण्डकी प्रदेश सबैभन्दा सुन्दर भएको चर्चा गरे । संविधान निर्माणका क्रममा कोरला नाकादेखि त्रिवेणी नाकासम्म जोड्ने गरी गण्डकी प्रदेश बनाउन भूमिका खेलेको उनले स्मरण गरेका थिए । कालीगण्डकी करिडोर छिटो सकेर गण्डकीले समृद्धिको ढोका खोल्ने उनले बताए । ‘अब डेढगाउँदेखि त्रिवेणीसम्मको सुरुङ मार्ग बनाउन सकेमा गण्डकी देशकै सुन्दर र समृद्ध प्रदेश बन्छ,’ उनले भने, ‘यो अभियानमा तपार्इंहरू होस्टे गर्नुहोस्, म पनि हैंसे गर्नेछु ।’राष्ट्रपति पौडेलले २०४६ सालको आन्दोलनमा बागलुङ कारागार बसेको स्मरणसमेत गरे ।

त्यतिबेलाका सहयोद्धाहरु गोविन्दप्रसाद शर्मा कँडेल, जगदीशचन्द्र उपाध्यायलगायतको नाम उल्लेख गर्दै परिवर्तनका लागि लडेका सबैलाई सम्मान गरे । ‘म आज आफ्नै घर फर्केर आएझैं भएँ,’ पौडेलले भने, ‘मलाई जेलमा खाना खुवाउनेदेखि संकटका बेला भेटेर साथ दिनेहरू यही हुनुहुन्छ, सबैलाई अभिनन्दन छ ।’ राष्ट्रपति भएपछि पहिलो पटक बागलुङ आएकोले बागलुङवासी र धौलागिरि क्षेत्रका बासिन्दालाई अभिनन्दन गरेको समेत पौडेलले बताएका थिए ।

Back to top button