पर्वतका स्थानीय तहमा दमकल नहुँदा समस्या:आगलागी घटना बढ्दो

पर्वत । पर्वतका स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । जिल्लाको कुश्मा नगरपालिका बाहेक अन्य स्थानीय तह दमकल बिहीन छन् । गर्मीयाम शुरु भएसँगै जिल्लामा आगलागीका घटना बढ्न थालेका छन् । आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्कीएको छ । जिल्लामा आगलागीका सयौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ  । हावाहुरी चल्ने, आगलागी हुने समय शुरु भएको हँुदा स्थानीय तहमा दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ ।

डिभिजन कार्यालय पर्वतका अनुसार जिल्लाको १५ सय हेक्टर जंगलमा आगलागी भएको छ । फागुन, चैत्र र बैशाख महिनामा हावाहुरीको मौसम भएकाले आगलागीका घटना बढी हुने गर्दछन् । अहिले पुनः गर्मीयामसँगै हावाहुरीको मौसम शुरु भइसके पनि स्थानीय तहले यसबारे आवश्यक चासो लिएका छैन । जननिर्वाचित प्रतिनिधिहरूसमेत आगलागीका सम्भावित घटना न्यूनीकरणतर्फ गम्भीर देखिएको पाइएको छैन ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम विकले आवश्यकता अनुसार स्थानीय तहले दमकल खरिद गर्नुपर्ने बताए । ‘सवै ठाउँमा दमकल आवश्यक छैन, सम्भव हुने पालिकाले चासो देखाएको पाईदैन, विकले भने,‘सवैभन्दा बढि आवश्यकता फलेवास नगरपालिका र पैयूँ गाउँपालिमा देखिएको छ ।,’ उनले आगामी बर्ष दमकल खरिदका लागि स्थानीय तहलाई आग्रह गर्ने बताए ।

जिल्लाको समथर भु–भाग मानिने फलेवास नगरपालिकाको सवै वडामा सडकको सहज पहुँच पुगेको छ । शहरीकरण र व्यापारिक केन्द्र बढ्दै गएको बेला दमकलको ठुलो आवश्यकता भएपनि नगरपालिकाले दमकल किन्ने विषयमा कुनै योजना बनाएको छैन । फलेवासले आवश्यकता परेको ठाउँमा कुश्माबाट दमकल बोलाउने गरेको छ । नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत रहेपनि फलेवासले यसतर्फ ध्यान दिन सकेको छैन ।

जिल्लो दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको पैयूँ गाउँपालिकाले आवश्यक बजेट अभावका कारण दमकल खरिद गर्न नसकेको बताएको छ । गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले बजेट अभावका कारण दमकल किन्न समस्या भएको बताउँदै दमकलको आवश्यकता महसुस भइरहेकोे उनको भनाइ छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत निःशुल्क रुपमा सहयोग गर्दै आएको कुश्माका नगर प्रमुख रामचन्द्र जोशीले बताए । कुश्मा नगरपालिका क्षेत्रमा एउटा दमकल व्यवस्थापनका लागि वार्षिक रु १५÷२० लाख आवश्यक पर्ने जोशीको भनाई छ ।गण्डकी संचार

Back to top button