मोदीमा सार्वजानिक सुनुवाई सम्पन्न : नागरिकका गुनासा धेरै

पर्वत । सुशासन र पारदर्शितालाई मध्येनजर गदै पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक सुनुवाई गरी प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाको आयोजना र जि.एण्ड.जि मिडिया प्रा.लिको सहजिकरणमा सम्पन्न सार्वजानिक सुनुवाइ कार्यक्रम गाउँपालिकाले पहिलो पटक आयोजना गरिएको हो ।

गाउँपालिकाले पहिलो पटक सार्वजानिक सुनुवाई गरेको भन्दै नागरिकहरुले प्रशंसा गरेका थिए ।स्थानीय नागरिकको बाक्लो उपस्थिती रहेको कार्यक्रममा अधिकाँश नागरिकले गाउँपालिकाले गरेका काम र गर्नपर्ने कामको विषयमा सुझाव दिएका थिए भने १६ जनाले गाउँपालिकाकाले पालिका स्तरिय कार्यक्रममा अनावश्यक खर्च गरेको, अनुदान वितरणमा लापरबाही भएको, बजार क्षेत्रमा सिसि क्यामरा र सडक बत्ती नहुँदा दुर्घटनाका जोखिम बडेको, फोहोर व्यवस्थापनमा ध्यान नदिएको लगायत सडक, शिक्षा, स्वास्थ्य, विद्युत, कर्मचारी प्रशासन, सेवा प्रवाह लगाएतका विषयहरुमा सहभागीहरुले प्रश्न सोधेका थिए ।

कार्यक्रममा गणेश वहादुर सुवेदीले गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्गशिल्डमा आवश्यक खर्च गरेको भन्दै प्रश्न गरेका थिए । उनले अनुदान पहुँचका आधारमा वितरण गरेको भन्दै वास्तविक किसानलाई उपेक्षा गरिएको बताए । ‘तपाईहरुले उत्पादनको आधारमा अनुदान वितरण गर्नुहोस्, राजनीतिक आस्थाका आधारमा अनुदान वितरण गर्दा बास्तविक किसान मर्कामा परेका छन्,’ उनले भने । कार्यक्रममा ठक्करप्रसाद शर्माले गाउँपालिका अन्तर्गत बग्ने खोलामा दोहोन बढेको, टनेल र हलो लगायतका उपकरण वितरणमा गाउँपालिकाले वेवास्ता गरेको बताए ।

सहभागीहरुले पालिका अस्पताल,सामुदायिक विद्यालयमा गुणस्तर शिक्षा नभएको, कक्षाकोठामा विषयगत शिक्षक नहुँदा शिक्षण सिकाई प्रभावकारी नभएको, गाउँपालिकाले संचालनमा ल्याएको एम्बुलेन्सको कार्यविधि नबनाएको, कर्मचारीका कारण सेवाग्राही समस्यामा परेको, सडकहरु मर्मत संभारमा ध्यान नपुगेको, आवश्यकता र औचित्यका आधारमा बजेट विन्योजन नभएको, महिला, गरिव तथा विपन्न सम्बन्धी ठोस् कार्यक्रम नल्याएको जस्ता प्रश्न सोधेका थिए ।

कार्यक्रममा चालु आर्थिक बर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत कमल गौतमलले सहभागीहरुले उठाएका विषयहरुको उत्तर दिएका थिए । यसैगरी कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने सहभागीहरुले अपेक्षाकृत धेरै विषयहरु अझै नउठाएको भन्दै सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आफ्ना कमजोरी थाहा पाउने अवसर भएकाले सुधार गर्नुपर्ने सवै कुराहरु उठाउन आग्रह गरेका थिए ।

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रदेश सभा सदस्य भक्त कुँवर पनि सहाभागी थिए । उनले गाउँपालिकाको विकास र सम्बृद्धिका लागि आफू सवै समय तत्पर रहेको कुरा कार्यक्रममा बताएका थिए । गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले गाउँपालिका भित्रका सवै समस्याहरु क्रमशः सुधार गर्दै लैजाने भन्दै सहभागीहरुले उठाएका प्रश्नहरुको उत्तर दिएकी थिइन । उनले महिला शसक्तिकर, पूर्वाधार निर्माण र सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्न तर्फ गाउँपालिका अग्रसर भईरहेको उल्लेख गरेकी थिइन् ।

Back to top button