जलजला नाग्लीवाङस्थित लुप्राङमा अब चौबिसै घण्टा पानी

पर्वत, लामो समयदेखि काकाकुल रहेको जलजला गाउँपालिका-८ नाग्लीवाङस्थित लुप्राङमा अब चौबिसै घण्टा पानी पुग्ने भएको छ।

सिङ्गो बस्ती नै एक मात्रै कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइसराइ बढिरहेको वेला लामो प्रयासपछि पानीको सुविधा पुग्न लागेको हो। बर्खामा बेलामा आकाशको पानीले काम चलाए भए पनि हिउँद लागेपछि कुवाको पानी भर्न घण्टौँ कुरेर बस्नुपर्ने अवस्था थियो।

वडाध्यक्ष हरि विकास जिसीले वर्षौँदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताए। लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर ल्याइएको हो। गाउँमा झरेको पानी एक लाख लिटर क्षमताका ‘रिर्जभ ट्यांकी’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना छ। एक करोडभन्दा बढी रुपैयाँ लगानीमा पूरा हुने योजना सकिएपछि लुप्राङवासीले नयाँ जुनी फेर्ने वडाध्यक्ष जिसी बताउँछन्।

‘त्यहाँको पानीको समस्या वर्षौँदेखिको हो। त्यहाँका बासिन्दा अहिलेसम्म पनि कुवाको पानीमा भर पर्दै आएका छन्। गाउँको सबैभन्दा ठूलो पिर नै पानी थियो, उनले भने, ‘गाउँमा आएपछि लुप्राङबासीले पानीको विषयमा नयाँ जुनी नै फेर्न लागेको महशुस भएको छ’, उनले भने।

वडाध्यक्ष जिसीका अनुसार पानीको समस्याकै कारण गाउँ रित्तिँदै जाँदा  चिन्ता थपिएको थियो। अहिलेको आधुनिक जमानामा एक गाग्री पानी  नपाउने भएपछि गाउँ छाड्नेहरू बढेका थिए। केही वर्षअघिसम्म लुप्राङमा करिब १३० घर भए पनि तीमध्येका करिब ४० परिवार बसाइ सरेको वडाध्यक्ष जिसी बताउँछन्।

स्थानीय हरिनारायण रेग्मीले वर्षौँदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङबासीको मागको सुनुवाइ बल्ल भएको बताए। यससँगै एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ।

विगतमा पनि लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास नभएको भने होइन। तर एउटा वडामा रहेको स्रोत  अर्को वडामा लगेर प्रयोग गर्ने कुरामा राजनीतिक दलका प्रतिनिधि नै सहमत नहुँदा समस्या भएको थियो। यही विषयले गाउँपालिकाका बैठकमा समेत विवाद हुने गरेको थियो।

तर यो पटक भने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसी, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य, नाग्लीवाङका वडाध्यक्ष हरि विकास जिसी, बनौँका वडाध्यक्ष गौबहादुर पुर्जा र स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलले पानीको टुंगो लगाएको हो।

Back to top button