पर्वतका दुई सय भन्दा बढि कुकुरलाई बन्धाकरण सँगै रेविज विरुद्धको खोप

पर्वत । पर्वतमा दुई सय भन्दा बढि कुकुरलाई बन्धाकरण सँगै रेविज विरुद्धको खोप दिईएको छ । सदरमुकाम कुश्मामा छाडा छोडिएका कुकुरहरुको व्यवस्थापन गर्न र रेविज रोग नियन्त्रण गर्नका लागि सामुदायिक र घरपालुवा गरी दुई सय २३ वटा कुकुरको निशुल्क बन्ध्याकरण सँगै रेविजरोग विरुद्धको खोप दिईएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजीप्रसाद पौडेलका अनुसार ८५ वटा कुकुरको बन्धाकरण गरिएको र १सय ३८ वटा कुकुरलाई रेविजरोग विरुद्धको खोप लगाईएको छ ।
‘छाडा छाडिएका सामुदायिक कुकुरहरुको संख्या बढ्न थाले, यसले रेविजको जोखिम पनि बढायो,’ उनले भने ‘बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन, अनि रेविजको जोखिम पनि कम हुन्छ ।’ बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिज बिरुद्धको खोप पनि लगाइएको उनले बताए ।

शिविरको उद्घाटन गदै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले पशु सेवा विज्ञ केन्द्रले गरेको कार्यक्रम उपयुक्त र आवश्यक रहेको बताए । उनले रेविज प्राणघातक रोग भएकाले यसको न्यूनिकरणका लागि पहल थालिनु राम्रो भएको बताए । रेविज रोग नियन्त्रण गर्नको लागि विभिन्न प्रचार प्रसार, विद्यालय शिक्षा लगाएतका क्रियाकलाप गर्ने र खोप कार्यक्रमलाई पालिकास्तरमा वृहत रुपमा लैजान पर्नेमा जोड दिए ।

कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख मानवहादुर पुन, केन्द्रीय रिफिरल पशु चिकित्सालय काठमाडौका प्रमुख टेक प्रसाई र कृषि धान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बोलेका थिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कुश्मा नगरपालिका पशु सेवा शाखाका प्रमुख रुपक कँडेल र कार्यक्रमको संचालन पशु सेवा प्राविधिक सुवास रेग्मीले गरेका थिए ।
बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालनका लागि कुश्मा नगरपालिका र केन्द्रीय रिफिरल पशु चिकित्सालय काठमाडौले प्राविधिक सहयोग पु¥याएको थियो ।

Back to top button