चुनावका लागि स्राेतकाे व्यवस्थापन भइसकेकाे छ : अर्थमन्त्री शर्मा

रुकुम पश्चिम – अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन मन्त्रालयले गरिसकेको बताउनुभएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै राष्ट्रिय राजनीति चुनावमा केन्द्रित भएको र आवश्यक पर्ने स्रोतको व्यवस्थापन भइसकेको उहाँले बताउनुभएको छ ।

आज सोमवार गृह जिल्ला रुकुम पश्चिमको सल्ले विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सबै दल चुनाव केन्द्रित प्रशिक्षण, सभा तथा भेलासँगै उम्मेदवार चयनमा लागिपरेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मन्त्रालयले बजेटको व्यवस्थापन गरेको बताउँदै उहाँले अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र विभागीय मन्त्रालयहरूले खर्च गर्ने काम समन्वयकारी रूपमा भइरहेको जानकारी दिनुभयो ।

फरक प्रसङ्गमा मन्त्री शर्माले आफू गठबन्धन सरकारको मन्त्री भएको बताउँदै अहिलेको अवस्थामा गठबन्धनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । ‘संविधानको रक्षा र जनताको अधिकारका लागि गठबन्धन जरुरी भएर सरकार बनेको हो’, उहाँले भन्नुभयो, ‘विभिन्न कालखण्डले गठबन्धन सरकारको संस्कृति आवश्यकता रहेको पुष्टि गर्दै गइरहेको छ ।’

आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पार्टीको केन्द्रीय निर्णय भएमा मात्र गठबन्धनको विषयमा स्पष्ट भन्नसकिने उहाँले जनाउनुभयो । रुकुममा आफूहरू सहकार्यका लागि तयार रहेको बताउँदै उहाँले चुनावी सहकार्य नभएमा पनि एक्लै प्रतिस्पर्धा गर्न तयारी अवस्थामा रहेको बताउनुभयाे ।

मन्त्री शर्माले कोरोना महामारी, रुस–युक्रेन युद्ध, आन्तरिक मूल्य शृङ्खला परिवर्तन लगायतका कारण गएकाे वर्षभन्दा ४२ दशमलव ५ प्रतिशत आयातमा वृद्धि भएको जानकारी दिनुभयो । उहाँले आर्थिक तरलताको कारण अर्थतन्त्रमा प्रभाव परेको र जसका कारण पुँजी सञ्चितिकरणमा दबाब परेको समेत बताउनुभयो । साभार उज्यालो अनलाईन

Back to top button