युक्रेनमा रहेका नेपालीलाई उद्धार गरिदिन भारत सरकारसँग आग्रह

काठमाडौं । रुसको आक्रमणबाट संकटग्रस्त युक्रेनबाट नेपाली नागरिकलाई उद्धार गरिदिन नेपालले भारत सरकारसँग आग्रह गरेको छ ।नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको हो । नेपाल फर्किन चाहने नेपालीलाई भारतीयसँगै जहाजमा ल्याइदिन आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताएका छन् ।

भारत सरकारले पनि नेपालको अनुरोधमा सकारात्मक जवाफ दिएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपाल र बंगलादेश लगायत छिमेकी मुलुकका युक्रेनमा अलपत्र परेका नागरिकको उद्धार गर्न भारत तयार रहेको भारतीय सञ्चारमाध्यमसमक्ष बताएका छन् ।कोरोना महामारी र अफगानिस्तान संकटका बेला आफ्ना नागरिक उद्धार गर्दा भारत सरकारले नेपाली नागरिकको पनि उद्धार गरेको थियो । करिब ३ सय नेपाली युक्रेनमा अलपत्र रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जर्मनीस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको जनाएको छ । दूतावासले परराष्ट्र मन्त्रालयलाई हालै लेखेको पत्रमा युक्रेन संकटग्रस्त अवस्थामा रहे पनि केही नेपाली भने स्वदेश फर्किन चाहेका छैनन् ।लाखौं खर्चेर रोजगारी र अध्ययनका लागि युक्रेन गएकाले तत्काल स्वदेश फर्किन नचाहेको उनीहरूले बताइरहेका छन् । ती नेपाली युक्रेन छोडेर अन्य युरोपेली मुलुकतिर छिर्न थालेका छन् ।साभार ईमेज खबर

Back to top button