पुरानै तालिका अनुसार चलचित्र रिलिज

काठमाडौं । यही १ फागुनबाट सिनेमा हल खुल्ने भएपछि हल सञ्चालक तथा चलचित्र वितरकहरुको संस्था नेपाल चलचित्र संघले आगामी बैशाख मसान्तसम्मका लागि रिलिज गर्ने नेपाली चलचित्रको मिति तय गरेको छ । नेपाल चलचित्र निर्माता सघको यस अघिको सहकार्यमा तय गरिएको मितिलाई सदर गर्दै त्यसलाई घोषणा गरिएको हो ।

केही दिन यताबाट कोरोना सँक्रमणमा कर्मी आएको छ । सरकारले सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सम्बन्धि सावधानी सपनाउँदै १ फागुनबाट सिनेमा हल खोल्न अनुमति दिने तयारी गरिरहेको बेला चलचित्र वितकहरुले नेपाली चलचित्र रिलिजको लागि मिति पक्का गरेका हुन् ।

नेपाल चलचित्र संघको हल सञ्चालकहरु र वितरकहरुको मँगलबार संघकै कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै निर्माताहरुलाई आफ्नो फिल्मको प्रचार प्रसार र अन्य तयारीको लागि पनि जुट्न अनुरोध गरेका छन् । सो बैठकपछि चलचित्र वितरक करण श्रेष्ठ क्रेजीले राजधानीसँग भने, ‘आजको बैठकले यस अघि रिलिज तय भएका चलचित्रलाई नै रिलिज गर्ने र खाली रहेको मितिमा निर्माता संघ तथा निर्माताहरुसँग सल्लाह गरेर अरु नेपाली चलचित्र रिलिजको पनि गर्ने निर्णय भएको छ । १ फागुनबाट आगामी ३० बैशाखसम्म रिलिज हुने चलचित्रको टुँगो आजको बैठकले लगाएको छ ।’

सो बैठकका अनुसार प्रदर्शन हुँदा हुँदै यस अघि ३ माघबाट हल बन्द भएपछि रोकिएका चलचित्रहरु चपली हाईट ३ र कठपुतली प्रदर्शनी गरिने भएको छ । यस्तै १६ माघमा रिलिज गरिने भनिएको चलचित्र म यस्तो गीत गाउँछु २ कोरोनाका कारण हल बन्द भएपछि रोकिएको थियो । पुजा शर्मा र पल शाहको अभिनय रहेको यो चलचित्रलाई अब १३ फागुनमा रिलिजको लागि नेपाल चलचित्र संघले सिफारिस गरेको छ । तर निर्देशक सुदर्शन थापाले १३ फागुनमा आफ्नो चलचित्र रिलिज गर्ने नगर्ने निर्णय लिएका छैनन् ।

यस्तै उदय सुब्बाको निर्देशनमा तयार भएको चलचित्र आकाश खेती २७ फागुनमा रिलिज हुने भएको छ । विल्सन विक्रम राई, गौरव पहारी, वर्षा राउतको यो चलचित्रमा मुख्य भूमिका छ । हल खुल्ने भएपछि अब आफु चलचित्रको प्रदर्शन तयारीमा जुट्ने निर्देशक उदयले बताएका छन् ।

आगामी चैत महिनामा दुई वटा चलचित्र रिलिजको तय संघले गरेको छ । ४ चैतमा चलचित्र चिसो एस्ट्रे रिलिजको तय भएको छ । १४ चैतमा चलचित्र पासो रिलिज हुने भएको छ । नया वर्षको अबसर पारेर १ बैशाखमा अनमोल केसी र सुहाना थापाको चलचित्र ए मेरो हजुर ४ रिलिज हुने भएको छ । यो चलचित्रको प्रचारमा आफुहरु जुटेको निर्देशक झरना थापाले बताईन् ।

यसैगरी २३ बैशाखको लागि किरण केसी र शिबहरी पौडेल निर्मित चलचित्र लक्का जवानको रिलिज मिति तय गरिएको छ । यो चलचित्रमा दीलिप रायमाझी, प्रियँका कार्कीलगायतको मुख्य भूमिका छ । ३० बैशाखमा चलचित्र चिसो मान्छे रिलिज गरिने तय भएको छ । दिपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रमा स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।

Back to top button