प्रदेश अस्पताल पर्वतमा सञ्चालनमा आयो ‘कपडा घर’

पर्वत : प्रदेश अस्पताल पर्वतमा आउने बिरामी र उहाँहरूको कुरुवा तथा सर्वसाधारण जनतालाई समेत मौसम अनुसारको निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले सुरुवात गरिएको न्यानो कपडा घर अर्थात् कपडा बैङ्क सोमवारदेखि अस्पताल प्राङ्गण भित्र सञ्चालनमा आएको छ ।
न्यानो घरको लागि प्रदेश अस्पताल पर्वतले स्थान, एक जना जनशक्ति तथा बिजुली पानीको व्यवस्थापन गरेको भने नेष्डो नेपाल तथा विश्व प्रसाईँ वि.पी. फाउन्डेसन नेपालले भौतिक सजावट, फर्निसिङ्ग तथा उपकरणको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
यसै गरी न्यानो कपडा घरको लागि कपडा सङ्कलन लगायतको आवश्यक व्यवस्थापकीय सहयोगको लागि डेढ दर्जन सङ्घसंस्थाहरू फ्रेन्ड्स अफ प्रदेश अस्पतालको रूपमा जोडिएका छन् । हाल फ्रेन्ड्स अफ प्रदेश अस्पतालमा रोटरी क्लब अफ पर्वत, इनरह्वील क्लब अफ पर्वत, पर्वत जेसिज, पर्वत मिलन क्लब, लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत, शिवालय शैक्षिक समाज, एकता युवा क्लब, पर्वत टेलरिङ्ग सङ्घ, पर्वत मिलन महिला समूह, पुन युवा क्लब, सिसेफ महिला समूह, धवलागिरि बहुउद्देश्यीय महिला विकास संस्था, बगैँचा आमा समूह, कुश्मा नारी समूह, अमर टिका प्रतिष्ठान, नेपाल पत्रकार महासङ्घ पर्वत लगायतका संस्थाहरू अभियानमा जोडिएका छन् ।
बुधवार आयोजित कार्यक्रममा प्रदेश अस्पताल पर्वत, व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरी र नेष्डो नेपाल एवम् विश्व प्रसाईँ फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईँले शिलालेखको पर्दा अनावरण गरी न्यानो कपडा घरको शुभारम्भ गरेका हुन् । दुई पक्षीय सम्झौता बमोजिम संस्थागत रूपमा प्रदेश अस्पताल पर्वत, नेष्डो नेपाल र विश्व प्रसाईँ वि.पी. फाउन्डेसन नेपाल र प्रतिनिधित्वको रूपमा अस्पतालका वर्तमान अध्यक्ष शंकर गिरी र नेष्डो नेपाल तथा विश्व प्रसाईँ प्रतिष्ठानका संस्थाको संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईँ स्थायी संरक्षक रहने सहमति गरिएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले अस्पतालको प्रस्तावलाई सहजै स्वीकार गरी नविनतम् सोचलाई सार्थकता दिन नेष्डो नेपाल र विश्व प्रसाईँ फाउन्डेसनले गर्नु भएको योगदानप्रति आभार व्यक्त गरे । आफ्नो पहलमा १४ शय्याको अस्पताललाई ६५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रबन्ध मिलाइएको, आवश्यक उपकरणको साथै सेवाको गुणस्तरमा समेत सुधार गरिएको गिरीले बताए । संरक्षक संस्था नेष्डो नेपाल एवम् विश्व प्रसाईँ फाउन्डेसनका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईँले अति मानवीय कार्यमा समाहित भई सेवा गर्ने अवसर दिनु भएकोमा अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै डेढ दर्जन सङ्घसंस्था यस परियोजनाको साथीको रूपमा सहकार्य गर्नु गौरवको पक्ष रहेको बताए । आँफुसंग भएका नयाँ पुराना कपडाको साथसाथै क्षमता अनुसारको द्रव्य दान समेत गर्न सकिने भन्दै दान गरे पश्चात् सम्मान खोज्न नहुने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माले न्यानो घर अत्यन्त पुण्य कार्य भएको भन्दै आफूले कर्मथालोवाट सहयोगको लागि लागि पहल गर्ने बताए ।
प्रदेश अस्पताल पर्वतका मेडिकल सुपरिन्टेन्डेन्ट हेमन्त बास्तोलाले आफ्नो कार्यकालमा अस्पतालको गुणस्तरीय सेवाको साथै न्यानो घर जस्तो रचनात्मक मानवीय सेवा शुभारम्भ गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सिसेफ महिला समूहका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षता, अमरटिका प्रतिष्ठान नेपालका सचिव उत्तम प्रसाद अधिकारीको स्वागत एवं पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।साभार सघन न्युज

Back to top button