
पोखरा ।कास्कीको पोखरामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। यसअघि ३ जनाको मृत्यु भएको पुष्टि भएकोमा पछि थप २ जना बालिकाको ज्यान गएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।
यसअघि गण्डकी प्रदेशका डिआइजी दीपेन्द्र जिसीले २ विद्यार्थी र १ गाडी स्टाफ गरी ३ जनाको मृत्यु भएको पुष्टि गरेका थिए। दुर्घटनामा अन्य घाइतेहरूको उद्धार तथा उपचार जारी रहेको कास्की प्रहरीले जनाएको छ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित माझठानाबाट कालिका बोर्डिङ स्कुलका लागि विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्लेमा सडकबाट करिब १ सय ५० देखि २०० मिटर तल भीरमा खसेको थियो।
विजयपुर सैनिक ब्यारेकबाट केही उत्तरतर्फ माझथाना नजिक भएको उक्त दुर्घटनालगत्तै प्रहरी र स्थानीयको टोली उद्धारमा खटिएका थिए। दुर्घटनामा परी घाइते भएका १८ जनाको उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका अस्पतालहरूमा पठाइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए।
पासवानका अनुसार उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन्। बाँकी २ जनालाई बाटोबाट लैजाने काम भइरहेको छ।
दुर्घटनाग्रस्त बस नराम्ररी क्षतिग्रस्त भएको छ। बसमा कति विद्यार्थी सवार थिए भन्ने यकिन संख्या अझै खुल्न सकेको छैन। घटनास्थलमै रहेर बाँकीको उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ। साभार समाधान






