नेपाल हाउसमा नेपाल सरकारको चासो : एनआरएनए जापानको अभियानले पायो थप उत्साह

१९ असार।   जापानमा रहेका नेपाली समुदायको साझा सपना र दीर्घकालीन सम्पत्तिका रूपमा निर्माण गर्न लागिएको नेपाल हाउस परियोजनाप्रति नेपाल सरकारको चासो देखिएको छ। यसैक्रममा जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, निवर्तमान अध्यक्ष नविन न्युरे लगायत पदाधिकारीसँग प्रस्तावित निर्माणस्थलको संयुक्त अवलोकन गर्नुभयो।

अवलोकनका क्रममा निर्माण योजनाबारे जानकारी लिँदै कार्यवाहक राजदूत पौडेलले नेपाल हाउस जापानमा रहेका नेपालीहरूको साझा पहिचान, एकता र भावी पुस्ताका लागि महत्त्वपूर्ण सम्पत्ति बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्तो परियोजना सफल बनाउन सबै नेपालीको साथ, सहयोग र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्न आग्रह गर्नुभयो।

एनआरएनए जापानले अघि सारेको नेपाल हाउस परियोजनालाई विदेशमा रहेका नेपालीहरूको साझा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि यसले नेपाली समुदायका सामाजिक, सांस्कृतिक, शैक्षिक तथा संस्थागत गतिविधिलाई एउटै छानामुनि जोड्ने अपेक्षा गरिएको छ। साथै, नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोड्न तथा नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउन पनि यो परियोजना महत्त्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।

Back to top button