बालेनलाई काम गर्न दिउँ : कान्तिका सेजुवाल

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा काठमाडौं महानगरको योजनाअनुसार काम गर्नमा रोकेको बताइन् । यस्तो कार्यले स्थानीय सरकार हतोत्साहित हुने उनको भनाइ छ ।

‘कि स्थानीय तह सरकार सञ्चालन ऐन खारेज गरौं । स्थानीय तहको जुन संविधानमा परिकल्पना गरिएको छ, त्यो खारेज गरौं । होइन भने उनीहरूलाई काम गर्न किन नदिने ?’ सेजुवालको प्रश्न छ ।

जेठ २१ गते काठमाडौंको न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र महानगरबीच विवाद भएको थियो । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक विभागले पिच गर्न थालेपछि न्यूरोडमा विवाद भएको थियो ।

फुटपाथ फराकिलो बनाउने भन्दै महानगरले भत्काएको न्यूरोड–इन्द्रचोकतर्फको सडक फेरि सडक विभागले बनाएको छ । विभागको यस्तो कार्यले बालेनको योजना कार्यान्वयन हुन नसकेको सांसद सेजुवालले बताइन् ।

‘न्यूरोड, वसन्तपुर ठमेलमा किन गाडी हिंड्ने रोड चाहियो ?’ उनी प्रश्न गर्छिन्, ‘फराकिलो गर्नका लागि, फुटपाथका व्यापारीहरूलाई, श्रमजीवीहरूलाई हटाएको होइन ? बालेनको जुन उद्देश्य थियो, जुन भिजन थियो त्यसलाई हामी समर्थन गर्छौं । म समर्थन गर्दछु ।’

काठमाडौं महानगरले फुटपाथका लागि काटेको सडक, विभागले टालेको उल्लेख गर्दै उनले पैसा धेरै भए कर्णालीका सडक बढाउनेमा खर्च गर्न सुझाइन् ।

उनी भन्छिन्, ‘संघीय सरकारको भौतिक मन्त्रालयले बजेट बढी छ भने कर्णालीको सडक जो मृत्युमार्ग बनिरहेका छन्, त्यसमा लगानी गरोस् । होइन भने बालेनलाई, काठमाडौं महानगरपालिकालाई र देशभरका स्थानीय तहलाई काम गर्ने वातावरण दिइयोस् ।’

Back to top button