मध्यपहाडी लोकमार्ग : पर्वत खण्डमा ४ वटा पुल निर्माण हुँदै

पर्वत। मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने विभिन्न खोलाहरुमा मोटरेवल पुल निर्माण हुन थालेका छन् । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तरर्गत पर्वत खण्डमा ४ वटा मोटरेवल पुल निर्माण हुन लागेका हुन् । लोकमार्गको पोखरा–कुश्मा सडक खण्ड अन्तर्गत करिव २४ किलोमिटर कालोपत्र भएको उक्त सडकका विभिन्न खोलाहरुमा मोटरेवल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका अनुसार तमादी खोलामा पुल निर्माणको काम भइरहेको छ । उक्त पुलको ७५ प्रतिशत काम सम्पन्न भएको कार्यालयका इन्जिनियर धिरज ढकालले जानकारी दिए । करिव ६ करोड लागतमा निर्माण हुन लागेको पुलको श्री सिद्ध बाबा निर्माण सेवा वालिङले जिम्मा लिएको छ । तमादी खोलामा वर्षाको समयमा अत्यधिक बाढी आउँदा सडक भत्किएर मानवीय र भौतिक क्षति भएको थियो । तमादी खोलामा बाढी आउँदा गत असोजको अन्तिम साता गाडी बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।

इन्जिनियर ढकालका अनुसार बाँकी सडक खण्डमा ३ वटा मोटरेवल पुल निर्माण हुने चरणमा रहेका छन् । सुन्दरे खोलाको पुल निर्माणका लागि डिजायन स्वीकृती भैसकेको छ । ८० मिटर लामो पुल निर्माणको जिम्मा लुम्वीनी प्राकृतिक जे.वीले लिएको छ । पुल निर्माणका लागि ठेकेदार कम्पनीले कामदार खटाईसकेको ढकालले बताए । यो पुल सँगै उक्त निर्माण कम्पनीले अन्य पुल निर्माणको पनि जिम्मा लिएको छ ।
निर्माण कम्पनीले मोदी गाउँपालिकाको पातीखोला र डिमुवा खोलामा पनि पुल निर्माण गर्न लागेको हो । डिमुवा खोलामा ६२ मिटर र पातीखोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२/५२ मिटर लामो दुई पुल निर्माण हुनेछन् । उक्त पुलको डिजायन स्वीकृतीमा ढिलाई भएका कारण पुल निर्माणले गति लिन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । उक्त निर्माण कम्पनीले बागलुङको काठेखोला पनि मोटरेवल पुल गर्न लागेका कारण सवै मोटरेवल पुलको लागत ४४ करोड १५ लाख रहेको कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको २ वर्ष पहिला नै २ लेनको सडक स्तरोन्नति भएको थियो । सडक २ लेनको बनेपछि पुरानो संरचनामा बनेका १ लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुलहरू थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

Back to top button