गृहमन्त्रीको अभिव्यक्तिमा गगनले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ ।

आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् ।

‘कि प्रधानमन्त्रीले वन गर्नुस् (स्वामित्व लिनुस्) । होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । यही सदनमा लिइन्छ ।’

यही जेठ ६ गतेको प्रतिनिधि सभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए ।

संसद बैठक लगत्तै थापाले पत्रकार सम्मेलन गरी त्यसको प्रमाण देखाउन चुनौती दिएका थिए । थापाले भनेका थिए,  ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।’

Back to top button