पैयूँका १९५ जना कृषकलाई मौरीको घार वितरण

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले मौरीपालक किसानलाई १९५ वटा मौरीका घार वितरण गरेको छ । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको पालिकाले पैयूँलाई मौरी पालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले १९५ वटा मौरीको घार वितरण गरेको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ई. राजीव रिमालले चालु आर्थिक बर्षको बार्षिक स्विकृत कार्यक्रम अनुसार लाभग्राही किसानलाई मौरी घार वितरण गरेको बताए । उनका अनुसार ४३ जना किसानलाई खाली घार र १५२ जना किसानलाई गोलसहितको मौरीघार वितरण गरिएको छ । उनले यसअघि पनि गाउँपालिकाको आयोजनामा विभिन्न वडाका मोरीपालक किसानलाई लक्षित मौरीपालन सम्बन्धि तालिम दिएको बताए ।

मौरीघार किसानलाई वितरण गदै गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरीघार उपलब्ध गराएको जानकारी दिए । कृषि क्षेत्रको विकासका लागि पैयूँ गाउँपालिकाले विशेष रणनीति अनुसार काम गदै आएको उनको भनाई छ । अध्यक्ष ठकुरीले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएर आगामी बजेट ल्याउन लागेको बताए । गाउँपालिकाकी उपाध्याक्ष यामकुमारी रानाले मौरी पालनबाट राम्रो आम्दानी लिन सकिने बताउँदै पालिकाले कृषिमा लगानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

Back to top button