गण्डकीमा बहुमत जुटाउने र मधेशमा विपक्षीको सरकार सुरक्षित गर्ने कांग्रेसको रणनीति

काठमाण्डौ – नेपाली कांग्रेसले गण्डकीमा प्रदेशमा बहुमत जुटाउने र मधेश प्रदेशमा विपक्षी गठबन्धनको सरकार सुरक्षित गर्ने रणनीति बनाएको छ । यसका लागि कांग्रेसले विपक्षीसहित सत्तारुढ एकीकृत समाजवादीसँग पनि छलफल थालेको छ । कांग्रेसले हिजो जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीसँग छलफल गरेको हो ।

सर्वोच्च अदालतको परमादेशसँगै हिजो गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त भएका पाण्डेले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, अहिलेको अवस्थामा पाण्डेसँग बहुमत छैन ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । कांग्रेससँग २७ मत मात्र छ । कांग्रेसले दुई सिटको राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई सहमतिमा लिन सक्यो भने पनि ३१ बहुमत पुर्‍याउन एमाले वा माओवादीको सहयोग चाहिन्छ । त्यसो छ एमाले–माओवादी गठबन्धनसँग पनि बहुमत छैन । एमालेसँग उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ र एक सिट एकीकृत समाजवादी गरी ३१ सिट छ ।

कांग्रेसले जसपा नेपालमा फुटसँगै सङ्कटमा परेको मधेश सरकारका विषयमा समेत छलफल थालेको छ । मधेशमा जसपा नेपालका सरकारलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । सरकारले आउँदो ३० गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । कांग्रेससँग २२, जसपा नेपालको १९, एकीकृत समाजवादीको ७ र लोसपाको ८ गरी ५६ सांसद पुग्छन् । त्यसैले कांग्रेसले सत्तारुढ एकीकृत समाजवादीलाई समेटेर मधेशमा नयाँ गठबन्धन सरकार बनाउने गरी तयारी थालेको हो ।

Back to top button