जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो ।

खेल पूर्वाधारको विकास गरी पालिकामा खेलाडी उत्पादनलाई प्राथमिकता दिन उहाँले अनुरोध गर्नुभयो । अध्यक्ष कप भलिबल प्रतियोगिताले पालिका भित्र रहेका खेल प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पालिका स्तरीय खेलाडीहरुको छनौंट गरी नियमित रुपमा खेल अभ्यास गरी जिल्ला,प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरुमा भाग लिनसक्ने गरी खेलाडी उत्पादन गर्नुपर्ने उहाँको भनाई थियो ।

नेपाली कांग्रेस जलजला गाउँपालिका कार्यसमितिका सचिव नविन जिसीले अध्यक्ष कप खेलकुद प्रतियोगिताले गाउँमा रहेका युवाहरुलाई उत्साह पैदा गरेको बताउनुभयो । स्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य भएकाले पालिकाले खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा बजेट निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो । नेकपा एमाले जलजला गाउँपालिका कमिटीका अध्यक्ष बाबुराम कार्कीले खेल क्षेत्रमा लगानी बढाएर राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

यसैगरी नेकपा (माओवादी केन्द्र) केन्द्र जलजला पालिकाका इन्चार्ज लोकराज आचार्यले वडास्तरमा खेलाडी उत्पादन र खेल प्रतिभाको विकासका लागि अध्यक्ष कप प्रतियोगिता उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।
<p>वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले गाउँपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्न प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई अनुशासित भएर आफ्नो प्रतिभा देखाउन अनुरोध गर्नुभयो ।

पालिकामा खेलकुद समिति गठन गरी वार्षिक क्यालेण्डर बनाएर खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने पालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिका भित्र खेल पूर्वाधार विकासलाई आगमी दिनमा थप बजेट विनियोजन गर्ने उहाँको प्रतिवद्धता थियो ।
पालिकामा खेलाडी उत्पादन गर्ने उद्देश्यले अध्यक्ष कप प्रतियोगिताको आयोजना गरिएको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उहाँले पालिकामा खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा ९ वटै वडाका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता आइतबार सम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई एकलाख एकहजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र,द्धितीय हुनेलाई पचास हजार पाँचसय ५५ रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई तीस हजार तीनसय ३३ रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वना हुनेलाई दश हजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

अध्यक्ष कपको अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कर्मचारीको समुहलाई पराजित गर्दै जनप्रतिनिधिको समुह विजयी भएको थियो । उद्घाटन कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो ।

Back to top button