नेपाली डाक्टरको टोलीबाटै कलेजो प्रत्यारोपण सफल भएपछि चिकित्सा क्षेत्रमा नयाँ उत्साह

काठमाण्डाै – त्रिभुुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली डाक्टरको टोलीबाटै कलेजो प्रत्यारोपण सफल भएपछि चिकित्सा क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।

अस्पतालमा  केही दिनअघि कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वमा नेपाली डाक्टरको मात्रै सहभागितामा कलेजोको सफल प्रत्यारोपण भएको हो । यसअघिका हरेक प्रत्यारोपणमा विदेशी विशेषज्ञलाई सहभागी गराइन्थ्यो ।

गएको पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषलाई उहाँकी ४० वर्षीया श्रीमतीले कलेजो दान गर्नुभएको थियो । कलेजो दान गरेर श्रीमती १० दिनमै र कलेजो प्रत्यारोपण गरेका श्रीमान २० दिनमा स्वास्थ्यमा सुधार गरेर अस्पतालबाट डिस्चार्च हुनुभएको छ ।

यो सफल प्रत्यारोपण ठूलो उपलब्धि भएको र कलेजो प्रत्यारोपणमा नेपाल अब आत्मनिर्भर भएको डा.भण्डारीको भनाइ छ । उहाँका अनुसार कलेजो प्रत्यारोपणमा आवश्यक विज्ञता, उपकरण तथा पद्धति, जनशक्तिको सङ्ख्यालगायतका कारण कलेजो प्रत्यारोपण जटिल भएकाले यो सेवा शुरु हुनुलाई नै उपलब्धिको  रुपमा मान्न सकिन्छ । कतिपय देशमा अरुको सहयोगमा  कलेजो प्रत्यारोपणको सेवा शुरु भए पनि पछि निरन्तरता दिन नसकेको पाइन्छ । तर नेपालमा भने कोरोनाका कारण केही समय यो सेवा बन्द भए पनि फेरि निरन्तरता दिन सकिएको र यसलाई नियमित गर्ने गरी तयारी भैरहेको  डा.रमेशसिंह भण्डारीले बताउनुभयो । कलेजो प्रत्यारोपणका  लागि समग्रमा २५ देखि ३५ लाख रुपैयाँसम्म खर्च लाग्छ ।

विदेशमाभन्दा नेपालमा कम खर्चमा उपचार गर्न सकिने विज्ञको भनाइ छ । तर नेपालमा हुने भरपर्दो उपचारबारे जनचेतनाको कमी र नेपालका अस्पतालमा पाइने उपचार सेवाबारे जानकारी नै नहुँदा बिरामीहरु महँगो शुल्क तिरेर विदेशमा उपचार गर्न जान बाध्य छन् । कतिपय बिरामी कमजोर आर्थिक अवस्थाका कारण देशभित्रै पाइने उपचारबाट पनि वञ्चित छन् ।

त्यसैले, सरकारले कलेजो प्रत्यारोपणलाई पनि कडा रोगको सूचीमा राखेर उपचारमा सहुलियत दिनु पर्ने र आम नागरिकमा नेपालमै कलेजोको सफल उपचार सम्भव भएकोबारे जनचेतना जगाउन आवश्यक रहेको डा. भण्डारीले बताउनुभयो । अहिले भक्तपुर अङ्ग प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पताल गरी दुई वटा सरकारी अस्पतालमा तथा अरु दुई वटा निजी अस्पतालमा गरेर चार वटा अस्पतालमा कलेजो प्रत्यारोपण हुने व्यवस्था छ ।

सरकारले भइरहेको सेवालाई गुणस्तरीय बनाएर मात्र अरु ठाउँमा अनुमति दिनुपर्ने डा. भण्डारीको सुझाव छ । यस्तै, विशेषज्ञ डाक्टरलाई निरन्तर सहयोग र प्रोत्साहनसँगै दक्ष जनशक्ति उत्पादनमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपालमा २०७३ देखि कलेजो प्रत्यारोपण शुरु भएकामा अहिलेसम्म झण्डै ३९ जनामा कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालमा मात्र ११ जनामा कलेको प्रत्यारोपण भएको छ । यो अस्पतालमा २०७६ सालदेखि शुरु भएको प्रत्यारोपणमा यसअघि १० जनामा कोरियन, भारतीयलगायत विदेशी विशेषज्ञको सहयोगमा कलेजो प्रत्यारोपण भएको थियो ।

Back to top button