स्थानीय तह संस्थागत क्षमता स्वूल्यांकनमा जलजला गाउँपालिका उत्कृष्ट

पर्वत । जिल्लाको जलजला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लाकै उत्कृष्ट देखिएको छ । पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका छन् । जिल्लाका सात स्थानीय तह मध्ये जलजला पहिलो भएको हो । गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तह छन् । ति मध्ये जलजला छैटौ स्थानमामा रहेको छ । जलजला गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ९०.२५ अंक सहित जिल्लामा पहिलो र प्रदेशमा छटौँ भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।

पालिकाहरूले गत आर्थिक वर्ष ०७९÷८० मा गरेका कामको विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा जलजला गाउँपालिकाले जिल्लाका सात पालिकामध्ये सबैभन्दा धेरै अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ । पालिकाहरूले विभिन्न दश वटा शीर्षकमा आफूले गरेका कामको आफैँले मूल्यांकन गर्ने प्रचलन छ । जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्याङ्कन गर्ने गर्छन् ।

जलजला गाउँपालिकाले पछिल्लो समय कृषि र शिक्षाको क्षेत्रमा धेरै काम गर्दै आएको छ । कृषि र शिक्षा क्षेत्रको विकास नगरिकन पालिकामा सुशासन र समृद्धि हासिन गर्न नसकिने भन्दै पालिकाले ठूलो बजेट यस क्षेत्रमा खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रतिवेदनअनुसार सवैभन्दा कमजोर बिहादी गाउँपालिका देखिएको छ । बिहादीले ५१.२५ प्रतिशत अंक प्राप्त गरेको छ । त्यस्तै कुश्मा नगरपालिकाले ६८ प्रतिशत अंक प्राप्त गरेको छ । महाशिला गाउँपालिकाले ७५.७५ प्रतिशत अंक प्राप्त गरेको छ । मोदी गाउँपालिकाले ७१.५प्रतिशत अंक प्राप्त गरेको छ । पैयुँ गाउँपालिकाले ७२.५ प्रतिशत प्राप्त गरेको छ । फलेवास नगरपालिकाले ७६.७५ प्रतिशत अंक प्राप्त गरेको छ । पालिकाहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्यांकनको आधार मानिएको हो ।

Back to top button