पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी

पर्वत । लक्ष्मीदेवी शर्माको पर्वत सदरमुकाम कुश्मा बजारमा किराना र फलफूल पसल थियो । दुःख गरेर कमाएको पैसाले यहाँको ग्रामीण कृषि सहकारी संस्थामा १ लाख रुपैयाँको सेयर किनिन् । दैनिक बचत गरेर उनले मुद्धति खातामा २३ लाख जम्मा गरेकी थिइन् ।डेढ वर्षअघि उनलाई रकमको आवश्यकता पर्‍यो । त्यसपछि सहकारीमा रकम फिर्ताका लागि जाँदा सञ्चालक र कर्मचारीले तरलता अभाव देखाएर पटक–पटक समय सीमा सार्दै लगे ।

अध्यक्ष लेखनाथ शर्मा, पूर्वअध्यक्ष राजु शर्मा, सल्लाहकार शालिग्राम पौडेललगायतले पनि आलटाल गरिरहे । त्यसपछि शर्मालाई सहकारीप्रति शंका लाग्न थाल्यो । उनले छिमेकीलाई गुहारिन् । प्रहरीमा उजुरी गरिन् । सुरुवातमा त यो विषयलाई प्रहरीले समेत बेवास्ता गर्‍यो । जब यस्तै समस्या भएका झण्डै ६० जना जम्मा भए । उनीहरू नियमित सहकारी धाउँथे । उनीहरूको मात्रै झण्डै १० करोड रुपैयाँ हिनामिना भएको पत्ता लाग्यो । दैनिक प्रहरी–प्रशासन, नगरपालिका धाउँदा हैरानी खेपेपछि शर्माको परिवार कुश्मा छाडेर पोखरा सरेको छ । शर्माको पसल अहिले बन्द भयो ।

यहाँकी सावित्री नेपालीले पनि बचत फिर्ता गर्न जाँदा पाइनन् । त्यसले उनको परिवारमा झगडा निस्क्यो । अहिले नेपालीको परिवारमा बिखण्डन आएको छ । नेपाली घरपरिवार, पतिसमेतको झगडाबाट छुट्टै बस्न थालेकी छन् । परिवारबीच मनमुटाव बढ्दा उनी मानसिक तनावमा परेकी छन् । सहकारीको रकम हिनामिनापछि सानो सानो सेयर रकम लिएर नियमित बचत गर्नेहरू अधिकांश यस्तै समस्यामा परेका छन् । सहकारीका अध्यक्ष शर्माले मात्रै १ करोड ९५ लाख रुपैयाँ बचत र सेयर रकम समेत हिनामिना पारिसकेको पुष्टि भएको छ । २०७९ वैशाख १६ गते शर्माले मात्रै १ करोड ९५ लाख रुपैयाँ घरखर्च चलाउन भनेर लगेको सहकारी रजिष्ट्रारको कार्यालयको अध्ययनमा उल्लेख छ । सहकारीमा कृत्रिम बचत खाता खोली सेयर वर्गीकरण गरी हिनामिना गरेको, जगेडा कोषको रकम समेत हिनामिना गरेको, फर्जीर् खर्च लेखांकन गरेको भेटिएको हो ।

सहकारी रजिष्ट्रार कार्यालयका अनुगमन निरीक्षण अधिकृत चोलाकान्त वाग्ले नेतृत्वको छानबिन टोलीले गत वर्ष चैत २ गतेको अनुमगनपछि चैत ८ गते १५ दिनभित्र रजिष्टारको कार्यालयमा हिसाब बुझाउन पत्राचार गरे पनि सञ्चालकले बेवास्ता गरेका थिए । हिसाब नबुझाएकाले साउन १८ गते कार्यालयले सहकारीलाई ३ लाख जरिवाना तोकेको थियो । उक्त रकम पनि दाखिला नभएपछि मात्र कार्यालयले सहकारी ठगीको मुद्दा अगाडि बढाएको हो । सहकारीका अध्यक्ष र सञ्चालक समितिले आफैं जमानी बसेर आफन्तलाई दिएको ऋणको भाखा नाघेको तर ताकेता नगरेको पनि भेटिएको छ । यसरी भाखा नाघेकामा ६ करोड २९ लाख रुपैयाँ थियो । त्यसबाहेक पूर्वव्यवस्थापक राजु शर्माले १७ लाख र ऋण उपसमितिकी सदस्य प्रभा खड्काले २३ लाख रुपैयाँ बिनाधितो ऋण लिएको समेत देखिएको थियो ।

आफन्तलाई करोडौं रकम ऋण प्रवाह गरेको कागजात सञ्चालकले छुट्टै माइन्युटमा राख्ने गरेको भेटिएको छ । कारोबार गर्दाको २ प्रतिशत सेवा शुल्क उपाध्यक्ष विष्णुप्रसाद तिवारी र कोषाध्यक्ष शालिकराम पाध्याको नाममा राख्ने गरेको समेत कार्यालयको प्रतिवेदनमा उल्लेख छ । ऋणका लागि धितो राखेको जग्गा पनि ऋण समितिका संयोजक धनपति आचार्यको नाममा पास गराइ राखेकाले सबै क्रियाकलापमा ठगी उद्देश्य भएको पाइएको अनुसन्धानमा आएका सहकारी विज्ञ निर्मल गौतमले जिल्ला सरकारी वलिकको कार्यालयमा प्रतिवेदन बुझाएका छन् । ६० जनाले दिएको जाहेरीपछि मात्र सरकारी वकिलको कार्यालयले गत पुस ९ गते जिल्ला अदालत पर्वतमा अध्यक्ष लेखनाथ शर्मासहित २० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको छ । अदालतको आदेशले अध्यक्ष शर्मासहित ७ जना पक्राउ परिसकेका छन् । १३ जना फरार छन् ।

कुश्मा बजारमै रहेको ‘तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’मा पनि सञ्चालक र कर्मचारीको मिलेमतोमा २९ करोड रुपैयाँ हिनामिना र फर्जी खर्च देखाएर अपचलन गरेको भेटिएको छ । २०७९ चैत ५ गते १५ दिनभित्र हिसाब बुझाउन गरिएको पत्रको बेवास्ता भएपछि सहकारी रजिष्टार कार्यालय पोखराले ३ लाख जरिवाना तोकेको थियो । उक्त जरिवानाको १ लाख तिरेर २ लाख नबुझाएपछि कार्यालयले उक्त सहकारीमा पनि ठगीसम्बन्धी खोजी थालेको थियो ।

कुश्मा–१ की ५५ वर्षीया शकुन्तलाकुमारी श्रेष्ठको जाहेरीले सहकारीका अध्यक्ष बालगोपाल श्रेष्ठसहित २२ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सहकारीका बचतकर्ताको ६ करोड ३५ लाख, अध्यक्ष बालगोपाल श्रेष्ठ, सफ्टवेयर डेभलपर फर्मका शाखा प्रमुख प्रतिमान पौडेल र व्यवस्थापक अन्जली श्रेष्ठको मिलेमतोमा अन्य कोषसमेतको १३ करोड ५८ लाख ५४ हजार हिनामिना भएको पाइएको हो । त्यसबाहेक कर छली गरेर अवैधानिक लाभ लिने उद्देश्यले कृतिम खर्च लेखांकन गरिएको, सिस्टमबाट भौचर र कारोबार नै मेटाउने गरेको समेत भेटिएको थियो । बाह्य ऋण र कृत्रिम सम्पत्ति देखाइ अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष शिवप्रसाद सुवेदी, व्यवस्थापक अञ्जली श्रेष्ठ र सफ्वेयरका डेभलपर प्रतिमान पौडेलले थप ११ करोड ४२ लाख ५५ हजार दुरुपयोग गरेको भेटिएको गौतमको प्रतिवेदनमा उल्लेख छ । पीडित ३२ जनाको उजुरीले सहकारीका सञ्चालक, व्यवस्थापक र कर्मचारी छानबिनमा तानिएका हुन् ।

स्थानीय शान्तिनारायण श्रेष्ठले आफ्नो २४ लाख रकम फिर्ता नपाउँदा कारोबार चौपट भएको गुनासो पोखे । ‘नियतवश रकम हिनामिना पारिएको छ । हाम्रो बचत जसरी पनि फिर्ता पाउनुपर्छ,’ उनले भने, ‘राज्यले पनि समयमा यस्ता समस्याको अनुगमन गरेर जनताको रकमको सुरक्षा गर्नबाट चुक्यो ।’ समयमा बचत फिर्ता नभएमा धेरैको परिवारमा बिखण्डन आउने उनले बताए ।

अध्यक्ष श्रेष्ठले त योजनाबद्ध तरिकाले रकम हिनामिना गरेको पाइएको छ । उनले बाबुआमाबाट अचल सम्पत्तिको अंश समेत लिएका छैनन् । बरू अंशस्वरूप रकम लिएको कागजात बनाएका छन् । पत्नी र छोराछोरीको नाममा सहकारीमा कुनै कारोबार नगरेको र कुनै पनि बैंकमा खातासमेत नरहेको भेटिएको छ । हाल उनी फरार छन् । छिमेकीका अनुसार श्रेष्ठ सहकारीको रकम हिनामिनापछि अनुसन्धान सुरु हुने आशंकामा अस्ट्रेलिया पुगेका छन् । उपाध्यक्ष कृष्णप्रसाद शर्मा वैदेशिक रोजगारीमा रहेकाले रकम हिनामिना गर्ने कुनै पनि बैठकमा उपस्थित नभएको देखिएपछि ३० लाख धरौटीमा छुटेका छन् । उनीहरूलाई कारबाही गरी बचतकर्ताको रकम फिर्ता गराउन पुस ९ गते सहकारी ठगी मुद्दा परेको थियो । दुवै सहकारीको विषय जिल्ला अदालतमा पुगिसकेको छ ।

यी दुई सहकारीका घटनाले कुश्माबजारका बासिन्दा अधिकांशमा आर्थिक संकट, पारिवारिक विखण्डन वा मानसिक समस्या आएको पर्वतस्थित शिवालय बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक राजेन्द्र पहाडीले बताए । ‘कतिपय बचतकर्ता मानसिक समस्यामा परिसकेका छन्, उनीहरूको जीवन रक्षाको विषयसमेत जटिल बनेको छ,’ उनले भने, ‘आर्थिक विषय समयमा मिलेन भने यहाँ जघन्य अपराध, आत्महत्या र बिखण्डनको समस्या आउने देखिएको छ ।’ सानो सहरभित्र कतिपयले सहकारीकै कारणले आत्महत्या गरेको भेटिएको उनले बताए ।

जिल्ला प्रहरीको तथ्यांकमा चालु आर्थिक वर्ष मात्रै पर्वतमा २४ जनाले झुण्डिएर, ७ जनाले हामफालेर, ४ जनाले विषसेवन गरेर तथा एक जनाले आगो लगाएर आत्महत्या गरेका छन् । केहीले सहकारीको समस्याबारे नोट लेखेर आत्महत्या गरेको समेत भेटिएको थियो । प्रहरी निरीक्षक केशव केसीले मृत्यु हुनेहरू कतिपय सहकारी पीडित भेटिएको बताए ।

केसीका अनुसार कुश्मा बजारमै रहेको ‘माता पाथीभरा बहुउद्देश्यीय सहकारी संस्था’मा पनि ११ करोड रकम हिनामिना भएको पीडितले उजुरी दिएका छन् । ‘दुई वटा सहकारीको ठगी मुद्दा अदालतमा गइसकेको छ, थप एकको उजुरी आएको छ,’ केसीले भने, ‘अनुसन्धानका क्रममा रहेकाले माता पाथीभराको बारेमा विस्तृत भन्न सकिएन ।’ उक्त सहकारीका सञ्चालक र कर्मचारीको खोजी र अनुसन्धान भइरहेको केसीको भनाइ छ ।  समाचार कान्तिपुर दैनिकबाट सभार।

Back to top button