पर्वत र बागलुङ जोड्ने झोलुंगे पुल सम्झौता मिति भन्दा चार महिना अगावै बन्यो

पर्वत । पर्वत र बागलुङ जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङको ओडारे र बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधाम जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।

आगामी असार महिनासम्म निर्माणको अवधि भए पनि माघमै निर्माण सकिने भएको हो ।  कालीगण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो यो झोलुङ्गे पुलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ ।

यो पुल डेढ वर्षअघि निर्माण थालिएको थियो । पुल निर्माणको करिब ९५ प्रतिशत भौतिक प्रगति भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । अबको तीन हप्ताभित्र पुलबाट सर्वसाधारण वारपार  गर्न सक्ने कार्यालयले जनाएको छ ।

दुई वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी २०७९ साल असार २१ गते सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुर र हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीबीच भ्याटबाहेक रु आठ करोड २३ लाख ४१ हजार चार सय ११ मा ठेक्का सम्झौता गरिएको थियो ।

ठेक्का सम्झौता मितिभन्दा चार महिनाअगावै पुल निर्माण सम्पन्न हुन लागेको निर्माणको जिम्मा पाएको हिमशिखर हिरा कन्स्ट्रक्सन निर्माण कम्पनीका मुख्य प्रतिनिधि वसन्त घर्तीमगरले जानकारी दिए । उनका अनुसार अबको दुई हप्ताभित्र पुलबाट वारपार गर्ने व्यवस्था मिलाउन यतिखेर निर्माणको काम तीव्र बनाइएको छ ।

“पुलको करिब निर्माण कार्य सकिएको छ”, घर्तीमगरले भने, “अब केही बाहिरी काममात्र बाँकी छ, पुलको दुवैतर्फ सन्तुलनका लागि राखिने विनगाइ वा हावालट्ठा तान्ने काममात्र बाँकी छ, चार हावा लट्ठामध्ये एउटा तानिसकिएको छ, तीनवटा तान्ने काम बाँकी छ, हावा लट्ठा तानिसकेपछि पुलको दुवैतर्फ जाली लगाएपछि पुल निर्माण सकिने भएको छ ।”

पुल निर्माण सम्पन्न भएपछि जलजला–८ नाग्लिबाङका बासिन्दा घन्टौँ लगाएर बागलुङबजार जानुपर्ने बाध्यताको अन्त्य हुने जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख तथा स्थानीय बासिन्दासमेत रहेका सोम जिसीले बताए । जलजलाका नागरिक व्यापारिक कामका लागि बागलुङ जान निकै सहज हुने उनले बताए ।

नाग्लिबाङबासी डेढ घण्टा हिँडेर बागलुङबजार जानुपर्ने बाध्यता रहेको थियो । यो गाउँका बासिन्दाले दैनिक उपभोग्य सामग्री किन्न र पठनपाठन तथा बैङ्किङ कारोबारका लागि दैनिक डेढ घन्टा हिँडेर वा एक घन्टा सवारी साधनमार्फत बागलुङबजार धाउने गर्दछन् । पुल बनेपछि १५ मिनेटमा बजार पुग्न सकिने जिसीले बताए ।

Back to top button