पैयूँमा आयोजित स्वास्थ्य शिविरमा साढे तीन सय जनाको स्वास्थ्य परीक्षण

पर्वत । जिल्लाको पैयूँ गाउँपालिकामा आयोजित विशेषज्ञसहितको स्वास्थ्य शिविरबाट साढे तीन सय जनाले स्वास्थ्य लाभ लिएका छन्। नन नेपाली रेसिडेन्ट एसोसिएसन क्यालिफोर्निया अमेरिका र देउराली फाउन्डेसन नेपालको संयुक्त आयोजना तथा पैयूँ गाउँपालिकाको प्राविधिक तथा समन्वयकारी सहयोगमा पैयूँ गाउँपालिका–४ हुवासमा ‘क्यान्सर, मिर्गौला तथा सरुवा रोग सचेतना शिविर’ को आयोजना भएको थियो।

हुवासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालनका लागि वातावरण तयार गर्न स्वास्थ्य शिविरको आयोजना गरिएको हो। शिविर सञ्चालनको लागि एनआरएनए क्यालिफोर्निया अमेरिकासँगै पर्वत उद्योग वाणिज्य सङ्घ पैयुँ उपशाखा र राजेन्द्र अञ्जना फाउण्डेशनसँग पनि सहकार्य भएको थियो।

शिविरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ जनरल फिजिसियन प्राध्यापक डा।भरतकुमार यादव, पाटन अस्पतालकै जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही, टेकु अस्पताल काठमाण्डौंका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। शेरबहादुर पुन, पाटन अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। विमल पाण्डे र पाटन अस्पतालकै जनरल फिजिसियन डा। विपिन पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए।

शिविरमा स्त्री रोग, क्यान्सर, मिर्गौला सम्बन्धी समस्या, मुटु रोग, बाल रोग, हाड जोर्नी तथा नशा रोग लगायतका समस्याबाट ग्रसित भएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। देउराली फाउन्डेसनका अध्यक्ष भीम घिमिरेका अनुसार शिविरमा आएका बिरामीहरूलाई स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि समेत वितरण गरिएको छ। थप उपचारको आवश्यकता भएकाहरूलाई आगामी उपचारको बारेमा सुझाव दिइएको र बिरामी तथा अन्य सर्वसाधारणलाई विभिन्न रोगहरू लाग्ने कारण, रोग लाग्न नदिनको लागि अपनाउनुपर्ने सजगता र रोग लागिहालेमा गरिने उपचार प्रक्रियाको बारेमा जानकारी दिइएको पनि अध्यक्ष घिमिरेले बताए।

सदरमुकामबाट टाढा हुँदा पैयूँ र आसपासको क्षेत्रका बिरामीहरू स्याङ्जाको वालिङसम्म पुगेर स्वास्थ्य सेवा लिइरहेको अवस्थामा स्वास्थ्य शिविरबाट थोरै पनि सहयोग भएको एनआरएनएका क्यालिफोर्निया अमेरिकाका अध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनीले बताए।

‘पर्वतका जनतालाई विभिन्न रोग र त्यसमा पनि विशेष गरी प्रमुख नसर्ने रोगहरूको रूपमा परिचित क्यान्सर, मिर्गौला तथा सरुवा रोगका लागि चिकित्सक खोज्दै काठमाडौँ जानुपर्ने अवस्थामा विशेषज्ञहरूमार्फत परीक्षण, उपचार तथा सचेतना सम्बन्धी कार्यक्रम गरिएको छ’, उनले भने, ‘पर्वतका पैयुँ बासीलाई गाउँमै गएर सेवा दिने कुरा आफैमा खुसीको कुरा हो। अहिले शिविरबाट स्वास्थ्य सेवा दिइएको भए पनि यहाँका नागरिकहरूको सहयोगमा छिट्टै अस्पताल सञ्चालनमा ल्याएर क्यान्सर र मिर्गौलाको सेवा त्यही गाउँबाट दिने तयारी गरिरहेका छौँ।’

फाउन्डेसनले गत वर्ष पुस छ गते दिन चितवनको माडी नगरपालिका स्थित बघौडा अस्पतालमा क्यान्सर तथा सरुवा रोग परीक्षण, उपचार तथा सचेतना शिविर सञ्चालन गरेको थियो। साभार–थाहा खवरवाट

Back to top button