पोखरामा घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार रुपैयाँ जरिबाना

कास्की – घरपालुवा कुकुरलाई जथाभाबी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ । सार्वजनिकस्थल, सडक तथा खुला ठाउँमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताउनुभयो ।

‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी शुरु गरेको छ’, उहाँले भन्नुभयो, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ ।’

कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उहाँले महानगरवासीसँग आग्रह गर्नुभयो । ‘सार्वजनिक सूचनामार्फत् पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘एकपटकका लागि एक हजार र पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिबाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ ।’

महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ । खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले बताउनु भयाे । उहाँले घरमा पालिरहेको कुुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमासमेत कारबाही हुने बताउनुभयो।

Back to top button