शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा उठेका पश्नहरुको जवाफ संसदमा दिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकका उठेका पश्नहरुको जवाफ दिने कार्यसूची छ ।

गत शुक्रबारको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिएका थिए । त्यसक्रममा सांसदहरुले प्रस्तावित विधेयकले संविधानको मर्म र भावना बोके नबोकोको विषयमा धारणा राखेका थिए ।

संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क भनिएको छ । माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने भनेको छ । यो कार्यान्वयन नहुने गरी विधेयक आएको सांसदहरुको टिप्पणी छ ।

आधारभूत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्रको विषय भएको तर सरकारले केन्द्रिकृत सोचबाटै विधेयक ल्याएको भनेर सांसदहरुले सरकारको जवाफ मागेका छन् ।

सांसदहरुले शिक्षकहरुसँग भएको सहमति कार्यान्वयनको सुनिश्चितता खोजेका छन् । शैक्षिक बेरोजगारलाई ख्याल गर्नुपर्ने विषयमा सांसदहरुको जोड छ ।

यी लगायतका विषयमा शिक्षामन्त्री राइले आइतबार जवाफ दिने कार्यसूची छ ।

साथै, आइतबार नै प्रतिनिधि सभाको बैठकमा विद्युत विधेयक पेश गर्ने कार्यसूची पनि छ ।

Back to top button