९ महिनामा ५१ सांसदले गरे विदेश भ्रमण

१९ असोज, काठमाडौं । पछिल्लो ९ महिनामा ५१ जना सांसदले विदेश भ्रमण गरेका छन् । १४ जना सांसद हाल विदेश भ्रमणमै छन् ।

५१ जनामध्ये २६ जना सांसदले पूर्वजानकारी गराएर विदेश भ्रमण गरेका छन् भने बाँकी कतिपयले जानकारी गराएका छैनन् । कतिपयले मौखिक जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा नेतृत्वको १० सदस्यीय टोली बंगलादेश भ्रमणमा छ । असोज १५ गते बंगलादेश पुगेको उक्त टोलीले पाँच दिनसम्म बंगलादेशको कृषि खेतीको अवलोकन गर्नेछ ।

उक्त भ्रमण टोलीमा राणासहित सांसदहरु प्रकाश पन्थ, अनिसा नेपाली, विनिता कठायत, अम्बरबहादुर थापा, सिंगबहादुर विश्वकर्मा, सूर्यकुमारी श्रेष्ठ, रुपा सोशी चौधरी र शारदा देवी भट्ट छन् ।

सांसदहरु सुमना श्रेष्ठ जापान, सोबिता गौतम बेलायत, डा. चन्दा कार्की बेलायत, डा. तोसिमा कार्की थाइल्यान्ड, सन्तोष परियार थाइल्यान्ड भ्रमणमा छन् ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको चालू कार्यकाल सुरु भएपछि सांसदहरुको १२ वटा औपचारिक विदेश भ्रमण भएको छ ।

४ मंसिर २०७९ मा भएको चुनावमा चुनिएर आएका प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनीताको सपथ ग्रहण ७ पुस २०७९ मा गरेका थिए । संसद सचिवालयले प्रकाशन गरेको संसद दर्पणमा प्रकाशित विवरण र संसद सचिवालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ९ असोज २०८० सम्म १२ वटा भ्रमण भएका हुन् । विनाजानकारी सांसदहरुले गरेका विदेश भ्रमण यसमा समावेश छैन ।

सभामुख देवराज घिमिरे विदेश भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र

संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको नयाँ कार्याकाल सुरु भएपछिको ९ महिनाको अवधिमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले दुई–दुई पटक विदेश भ्रमण गरेका छन् ।

सभामुख घिमिरे नेतृत्वको टोलीले मार्च ११ देखि १५ सम्म बहराइनको भ्रमण गरेको थियो । सांसदहरु रमेश लेखक, इन्दु कडरिया, हितराज पाण्डे, सन्तोष परियार समेतको टोली १४६ औं एसेम्बली अफ आइपियुमा सहभागी हुन बहराइन गएको हो ।

उक्त टोलीमा संसद सचिवालयका महासचिव भरतराज गौतम, तत्कालीन सचिव गोपालनाथ योगी सभामुखको स्वकीय सचिव तेज प्रकाश भट्टराई र शाखा अधिकृत राजन घिमिरे पनि सहभागी थिए ।

सभामुख घिमिरेले सेप्टेम्बर १८ देखि २२ सम्म आयरल्याण्डको पनि भ्रमण गरे । उनी नेतृत्वको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डे र सभामुखका स्वकीय सचिव तेज प्रकाश भट्टराई सहभागी थिए ।

घिमिरे ५ माघ २०७९ मा सभामुखमा निर्वाचित भएका थिए ।

उपसभामुख इन्दिरा राना नेतृत्वको टोलीले मे १५ देखि १७ सम्म सिंगापुरको भ्रमण गरेको थियो । आरएसआइएस डब्लुटिओ पार्लामेन्टरियन वर्कसप अन इन्टरनेशनल ट्रेडमा सहभागी हुन गएको उपसभामुख नेतृत्वको टोलीमा सांसदद्वय अम्मरबहादुर रायमाझी र विनोद कुमार चौधरी सहभागी थिए ।

उपसभामुख रानाले जुन ८ र ९ मा चीन भ्रमण पनि गरिन् । राना नेतृत्वको उक्त भ्रमण टोलीमा सांसदहरु मैना कार्की, भगवती चौधरी र चन्दा कार्की थिए । संसद सचिवालयका उपसचिव विमलराज जोशी पनि सहभागी थिए ।

राना ७ माघ २०७९ मा उपसभामुख निर्वाचित भएकी थिइन् ।

प्रतिनिधि सभाको चालु कार्यकाल सुरु भएयताको ९ महिनामा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले चार देशको भ्रमण गरे ।

भारतीय संसदीय व्यवस्था, अभ्यास र प्रणालीको अध्ययन तथा अवलोकनका लागि भन्दै संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका १२ सांसदले १४ चैत २०७९ देखि २२ चैत २०७९ सम्म भारत भ्रमण गरे । तर उनीहरूले भ्रमणमा जानु अगाडि संसद सचिवालयलाई जानकारी गराएनन्

फेब्रुअरी १६ देखि २२ सम्म राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले युएईको भ्रमण गरे । ‘जेनरल मिटिङ एण्ड दुबई मिट अफ इन्टरनेशनल पर्वत सोसाइटी’ नामक कार्यक्रममा भाग लिन युएई गएका अध्यक्ष तिमिल्सिनाको साथमा उनका तत्कालीन स्वकीय सचिव उदय तिमिल्सिना पनि सहभागी थिए ।

अप्रिल १९ देखि २४ सम्म राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना नेतृत्वको टोलीले रुसको भ्रमण गर्यो । रुसको अफिसियल भिजिटमा तिमिल्सिनासहित सांसदहरु बामदेव गौतम, रमेशजंग रायमाझी, दिल कुमारी रावल पार्वती, महेश कुमार महरा र शेखर कुमार सिंह पनि थिए ।

संसद सचिवालयका सहसचिव सीता काफ्ले र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिना पनि उक्त भ्रमण टोलीमा थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना मे २ मा कोलम्बिया पनि गए । संसद सचिवालयका उपसचिव नुमराज खनाल, बागमती प्रदेश सभा सदस्य अमन कुमार मास्केका साथै निर्मल कुमार थापा र राम कुँवर पनि उक्त भ्रमणमा थिए ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना नेतृत्वको ९ सदस्यीय टोलीले जुलाई ११ देखि १८ सम्म चीनको भ्रमण गर्यो । उक्त भ्रमण टोलीमा सांसदहरु जीवन परियार, धवलशम्शेर जबरा, दीपा गुरुङ, हरिराम चौधरी, प्रदीप यादव र उदय बहादुर बोहरा थिए । राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिव अकेला पौडेल र संसद सचिवालयका उपसचिव रामहरि थापा पनि सहभागी थिए ।

एलडिसी फाइभ कन्फरेन्समा सहभागी हुन कांग्रेसका सांसद जितेन्द्र नारायण देव मार्च ५ देखि ९ सम्म कतारको दोहा गएका थिए ।

सांसद प्रकाश पन्थ श्रीलंका गएका थिए । उनले मार्च २७ देखि ३० सम्म श्रीलंकाको कोलम्बो भ्रमण गरे ।

सांसद रामकुमार राईले जुन १४ र १५ मा कोरिया भ्रमण गरे ।

भारत भ्रमणको छैन अभिलेख

भारतीय संसदीय व्यवस्था, अभ्यास र प्रणालीको अध्ययन तथा अवलोकनका लागि भन्दै संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका १२ सांसदले १४ चैत २०७९ देखि २२ चैत २०७९ सम्म भारत भ्रमण गरे ।

संसद सचिवालयमा पूर्व जानकारी नदिई भारत भ्रमणमा गएपछि यो टोली विवादमा परेको थियो ।

उक्त भ्रमण टोलीमा कांग्रेसका प्रतिमा गौतम, मैना कार्की, सीता मिजार र शान्ति विक, एमालेका मेनुका पोखरेल, नारायण आचार्य, बलराम अधिकारी र फारुक अहमद सिराज सहभागी थिए । माओवादी केन्द्रका माधव सापकोटा र मीना तामाङ, रास्वपाका ढाकाकुमार श्रेष्ठ (हाल सांसद छैनन्) र एकीकृत समाजवादीका शेरबहादुर कुँवर पनि सोही टोलीमा थिए ।

काठमाडौंस्थित भारतीय राजदूतावासको सहयोग र स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपाल नामक गैरसरकारी संस्थाको समन्वयमा भारत भ्रमण गरेका सांसदहरुले भ्रमणमा जानु अगाडि संसद सचिवालयलाई जानकारी गराएनन् ।

प्रश्न उठेपछि सभामुखलाई विद्युतीय माध्यमबाट उपस्थित हुन नसक्ने जानकारी कतिपय सांसदले गराएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । तर, १२ सांसदले भारत भ्रमण गरेको औपचारिक अभिलेख संसद सचिवालयमा छैन ।

यद्यपि सभामुखसँग समेत समन्वय गरेर विदेश भ्रमण हुन सक्ने बताउँछन् संसद सचिवालयका प्रवक्ता एकराम गिरी ।

सांसद कहाँ छन् भन्ने जानकारी संसद र सभामुखलाई हुनुपर्ने मान्यताका आधारमा पूर्व जानकारी गराएर विदेश भ्रमणमा जानुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा गरिएको उनी बताउँछन् । काबु बाहिरको परिस्थितिमा मौखिक जानकारी गराउन सक्ने लगायतका सुविधा रहेको र कसैले विनाजानकारी भ्रमण गरे त्यो गयलका रुपमा रहने संसद सचिवालयका प्रवक्ता गिरीको भनाइ छ ।

लगातार १० वटा बैठकसम्म अनुपस्थित भए संसदबाटै बिदा स्वीकृतिको निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा, सांसदहरु १० भन्दा कम बैठकमा विनाजानकारी अनुपस्थित रहे कुनै कारबाही र सार्वजनिक जानकारीमा रहँदैन । यही व्यवस्थालाई देखाएर कतिपय सांसदहरुले विनाजानकारी समेत विदेश भ्रमण गर्ने गरेका छन् ।

संसद सचिवालयका प्रवक्ता गिरीका अनुसार ‘संसदमा अनुपस्थित रहे गयलका रुपमा रहन्छ । कहाँ गए भन्ने सोधीखोजी संसदले गर्दैन,’ उनी थप्छन्, ‘कतिपय औपचारिक कार्यक्रममा संसद सचिवालयले समन्वय गर्छ । अनौपचारिक कार्यक्रममा हाम्रो भूमिका हुँदैन । व्यक्तिगत भ्रमणबारे जानकारी हुँदैन ।’

Back to top button