पत्रकार महासंघ पर्वतमा ३ संगठनको तालाबन्दी

पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।पत्रकार महासंघको गण्डकी प्रदेश समितिले सदस्यता शुद्धिकरणको नाममा जिल्लाका अधिकांस क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गर्ने निणर्य गरेको भन्दै बुधवार जिल्लामा सक्रिय तीन संगठनले तालाबन्दी गरेका हुन् ।

जिल्ला शाखाले सर्वसहमत गरेको निर्णय माथि प्रदेश कमिटिले हस्तक्षेप गरेको संगठनहरुको आरोप छ । गण्डकी प्रदेश कमिटिले शुद्धिकरणको मापढण्ड विपरित पत्रकारिताको मर्मलाई कुल्चेर शुद्धिकरणको गरेको भन्दै पत्रकार निकट संगठनहरुले यस अघि देखि नै विरोध जनाउदै आएका छन् ।

प्रेस चौतारी पर्वत, प्रेस यूनियन पर्वत र समाजवादी प्रेस संगठन पर्वतले तालाबन्दी गरेका हुन् । प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण अखेली, प्रेस यूनियनका अध्यक्ष उत्तम अधिकारी, समाजवादी प्रेस संगठनका गण्डकी प्रदेश संयोजक गणेश पौडेलले संयुक्त रुपमा कालो ब्यानर टाँगेर तालाबन्दी गरेका हुन ।

नयाँ र पुराना गरी ५५ सदस्य रहेको पर्वत शाखामा २० जनाको सदस्यता खारेज गरिएको थियो । राष्ट्रिय तथा स्थानीय सञ्चार माद्याममा नियमित कार्यरत, सम्पादक, स्टेशन म्यानेजर जस्ता व्यक्तिहरुकै सदस्यता खारेज भएपछि तालाबन्दी गर्नुपरेको प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीले जानकारी दिए ।

क्रियाशिल र सक्रिय पत्रकारहरुको पेशागत मर्यादा र सुरक्षा विपरित भएको भन्दै उक्त निणर्य तत्काल सच्याउनुपर्ने समाजवादी प्रेस संगठन गण्डकी प्रदेश संयोजक गणेश पौडेलले बताए । उक्त निणर्य नसच्चिएसम्म ताला नखोलिन र थप आन्दोलनका कार्यक्रम गर्दै जाने उनले बताए ।

Back to top button