जलजला गाउँपालिकाले भूउपयोग ऐन अनुसार जग्गा वर्गीकरण गर्‍यो

पर्वत। जिल्लाको जलजला गाउँपालिकाले भू उपयोग नियमावली, २०७९ अनुसार गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेको जग्गालाई वर्गीकरण गरेको छ।
गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार भू–उपयोग ऐन, २०७६ को दफा ४ तथा नियमावली बमोजिम  स्थानीय आवश्यकता भू–उपयोग नियमावली, २०७१ को नियम ४ बमोजिम प्राप्त भू–उपयोग क्षेत्र नक्सा र भू–उपयोग नियमावली २०७१ को नियम ८ मा उल्लिखित भू–उपयोग क्षेत्र वर्गीकरणका आधार, मापदण्ड र क्षेत्रफल लगायतका विषयलाई ध्यानमा राखेर गाउँपालिकाका नौ ओटै वडामा जग्गाको क्षेत्र वर्गीकरण गरिएको छ।
वर्गीकरण गरिएको जग्गाको क्षेत्रलाई स्थानीय भू उपयोग परिषदबाट पारित समेत गरिसकिएकोले एक वर्षदेखि रोकिएको जग्गाको कित्ताकाटको काम अब गर्न सकिने भएको छ। ‘जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट गर्ने भनेर सरकारले कित्ताकाटको काम रोकेको थियो। सरकारले तोके अनुसार हामीले कुन कृषियोग्य जग्गा हो, कुन आवासीय जग्गा हो, कुन वन क्षेत्र हो भन्ने लगायतका आधारमा जग्गालाई छुट्टाएका छौँ’, अध्यक्ष आचार्यले भने, ‘पालिकाका नौ ओटै वडामा प्राविधिकहरू सहितको बैठक र भेला राखेर मापदण्ड अनुसार नै जग्गाको वर्गीकरण गरिएको हो। हामीले बनाएको मापदण्डहरू सबै नापी कार्यालयमा रहन्छ। कुन कामका लागि कित्ताकाट गर्ने भन्ने कुरा मापदण्ड र वर्गीकरण अनुसार मिलेको भएमा मात्रै कित्ताकाट हुन्छ।’ कृषिका लागि भनेर वर्गीकरण गरेको जमिनमा म घर बनाएर बस्छु भनी कसैले कित्ताकाटका लागि अनुरोध गरेमा त्यो नमिल्ने तर आवासीय क्षेत्रमा भने कित्ता काट्न सकिने उनको भनाई छ।
गाउँपालिकाले कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र र सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्रको रूपमा विभाजन गरेको छ। निर्धारण गरिएका यी नौ ओटा क्षेत्रभित्र नपर्ने विशिष्ट किसिमको भू उपयोग क्षेत्र तथा स्थानीय आवश्यकता अनुसार छुट्ट्याउनुपर्ने पर्ने अन्य कुनै भू उपयोग क्षेत्र भएमा पनि छुट्टाउन सकिने व्यवस्था नियमावलीमा रहेको छ।
कृषि क्षेत्रमा २९.७६ वर्ग किलोमिटर, आवासीय क्षेत्रमा ५.८२ वर्ग किलोमिटर, व्यावसायिक क्षेत्रमा ०.६८ वर्ग किलोमिटर, औद्योगिक क्षेत्रमा ०.०३ वर्ग किलोमिटर, खानी तथा खनिज क्षेत्रमा ०.०४ वर्ग किलोमिटर, वन क्षेत्रमा ४१.०८ वर्ग किलोमिटर, नदी, खोला, ताल, सिमसार क्षेत्रमा १.६४ वर्ग किलोमिटर, सार्वजनिक उपयोगको क्षेत्रमा ३.०९ वर्ग किलोमिटर र सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्रमा ०.०५ वर्ग किलोमिटर जग्गाको क्षेत्रफल निर्धारण गरिएको छ।
अन्नबाली, दलहन, तेलहन, नगदे वाली, फलफूल बगैँचा, नर्सरी, सागपात, व्यावसायिक फूल खेती, पशुपक्षी पालन तथा तिनीहरूको आहारको लागि प्रयोग भएको, वन पैदावार वा जडीबुटी भएको लगायतका जग्गालाई कृषि क्षेत्रका रूपमा राखिएको छ। जलजला गाउँपालिकाले समृद्धिको आधार र गाउँपालिकाको सम्भावनाको क्षेत्रका रूपमा कृषि तथा पशुपालनलाई नै प्राथमिकतामा राखेको छ।
गाउँपालिकाले तयार पारेको प्रतिवेदन भूमि व्यवस्था मन्त्रालयबाट स्वीकृत भएपछि गाउँपालिकामा कित्ताकाट खुल्ने छ। एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घर जग्गाको कारोबार तथा अंशबन्डाका कामहरू रोकिएका छन्।  यही कारण मालपोत कार्यालयले सङ्कलन गर्ने राजस्वमा समेत गिरावट आएको छ। कित्ताकाट सुरु भएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने छ।

Back to top button