कुश्माका ४० जना युवालाई उद्यमशिलता तालिम सँगै औजार

पर्वत। पर्वतको कुश्मा नगरपालिकाले आयोजना गरेको दुई दिने उद्यमशिलता विकास सम्बन्धि तालिम समापन गरिएको छ । नगरप्रमुख संग लघुउद्यम विकास कार्यक्रम अन्तर्गत सबै १४ वटा वडाबाट ३ जनाको दरमा सहभागि भएका उद्यमीहरुले दुई दिन सम्म विभिन्न खाले उद्यम सम्बन्धि सीप हासिल गरेका छन् । उनीहरुले सीप अनुसारको स्वरोजगारीको पनि माग गरेका छन् ।

तालिमको नगरप्रमुख रामचन्द्र जोशीले समापन गर्नुभयो । तालिम समापन संगै प्रमाणपत्र पनि वितरण गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले समाजमा देखिएको विद्यमान गरिबी, बेरोजगारी र अर्ध–बेरोजगारी जस्ता समस्यालाई समाधान गर्न यो तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले उद्यमको संभावना हेरेर लघु उद्यम शाखा मार्फत आवश्यक प्रविधि समेत सहयोग गरिने बताउनुभयो । कुश्मामा उद्यमको राम्रो संभवना रहेको बताउँदै उहाँले उद्यम गरेर यूवालाई गाउँमै रमाउने र कमाउने काममा आफुहरुले ध्यान दिने बताउनुभयो । उहाँले तालिमको माध्यमबाट नवीनतम सोच भएका वेरोजगार युवाहरूलाई ज्ञानमा आधारित व्यवसायहरू स्थापना तथा सञ्चालन गर्न उद्यमशीलता विकास तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले धेरै पुँजी नलाग्ने र फूर्सदको समयमा काम गर्न सकिने भएकाले लघु उद्यममा सरकारले बढि जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिका ८ का अध्यक्ष सुरेन्द्र केसी, कुश्मा १२ का अध्यक्ष झलक रिमाल, उद्यम विकास सहजकर्ता सिता नेपाली, लक्ष्मी तिवारी लगायतले बोल्नुभएको थियो ।

Back to top button