जलजला आलुको बीउमा आत्मनिर्भर : निर्यातको तयारीमा

पर्वत । वर्षौँ पहिलेसम्म जिल्लाका विभिन्न स्थानमा आलु खेतीका लागि क्याङ, लेस्पार, बनौँ, लगायतका ठाउँमाहरुमा पुगेर बीउ ल्याउने प्रचलन थियो। चिसो र लेकाली भेगमा फलेको आलुको स्वाद मिठो हुने भएकाले ती ठाउँमा पुगेर चामलसँग आलुको बीउ विनिमय गर्ने चलन पुरानो हो।

तर आजभोलि क्याङ, लेस्पार, बनौँ, लगायतका कृषकले बाहिर निर्यात गर्ने भन्दा पनि आफ्ना लागि आवश्यक बीउ मात्रै राखेको प्रायः भेटिन्छ। हाइब्रिड जातका बीउहरूले बजारमा आधिपत्य जमाएको बेलामा ती लेकाली भेगमा समेत आयातित बीउ प्रयोग हुने क्रम बढ्दै जान थालेको छ।

रैथाने जातका आलुको बीउमा विभिन्न समस्याहरू देखिएपछि जलजला गाउँपालिकाले आफै पूर्व मल बीउ र उन्नत जातको बीउ उत्पादनको काम गर्दै आएकोमा बीउमा आत्मनिर्भर बनेको गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतम बताउँछन्।

‘गाउँपालिकाले उत्पादन गरेको आलुको पूर्व मूल बीउबाट उत्पादन भएको आलुको बीउ कोल्ड स्टोरमा राख्नको लागि पठाइसकिएको छ। ५३ हजार दुई सय दाना बीउ लगाएकोमा त्यसबाट ६५ सय किलो उत्पादन भएको छ। अब अर्को वर्ष ७५ मेट्रिक टन उत्पादन हुँदै छ’ उनले भने, ‘दोस्रो पुस्ताको उन्नत बीउ १० मेट्रिक टन लगाएकोमा ७५ मेट्रिक टन उत्पादन गरेर कोल्ड स्टोरमा राखिएको छ। यही वर्ष पनि हामीलाई आवश्यक बीउ पुग्छ। केही निर्यात हुन सक्ने अवस्था रहला, अर्को वर्ष त हामीलाई आवश्यक भन्दा धेरै बीउ तयार भएको हुने छ।’

पूर्व मूल बीउबाट पहिलो चरणमा उत्पादन भएको ६.१ मेट्रिक टन बीउ कोल्ड स्टोरमा राख्नको लागि पोखरा पठाइएको छ। उन्नत जातका रूपमा लिइएको खुमल उज्ज्वलको ‘हार्भेस्टीङ’ बाँकी नै रहेको भन्दै शाखा प्रमुख गौतमले यो जातको बीउ आठ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको बताए। असिनाका कारण खुमल सेतो १ मा ५० प्रतिशत उत्पादन कम हुँदा पनि करिब लक्ष्य अनुसारकै बीउ तयार हुने अवस्था रहेको छ।

आगामी आर्थिक वर्ष २०८०÷०८१ मा ७५.५ मेट्रिक टन दोस्रो पुस्ताबाट उत्पादित बीउ आलु र आठ मेट्रिक टन मूल बीउबाट अन्य बीउ उत्पादन सुरु गरेपछि गाउँपालिकामा खपत हुन नसकेको बीउ निर्यात गर्ने अवस्था आउने गाउँपालिकाले बताएको छ। करिब १० लाख रुपैयाँको लगानीमा उत्पादन हुने उन्नत जातको बीउ कृषकले आलु खेतीका लागि पाउने छन्। तर पूर्व मूल बीउ भने गाउँपालिकाको प्रत्यक्ष निगरानी र लगानीमा कृषकहरूले लगाउने छन्। यो बीउका लागि कृषकहरूको छनोट, आलुको प्लटिङ, लगानी, निगरानी लगायतका कामहरू गाउँपालिकाले नै गर्ने छ।

गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले यस वर्ष २५ लाख रुपैयाँ लगानी गरेकोमा अर्को आर्थिक वर्षसम्ममा करिब डेढ करोड रुपैयाँ लगानी गर्ने बताउँछन्। यस वर्ष मूल बीउ एक हजार पाँच सय र उन्नत जातको १५ हजार बोरा बीउ उत्पादन गर्न आफूहरू सफल हुनुले बीउमा आत्मनिर्भर बन्न सकिएको उनको भनाइ छ। गाउँपालिकाले रैथाने तथा परम्परागत जातका आलुका बीउको संरक्षणको प्रयास गरेको भए पनि रैथाने जातको बीउमा विभिन्न समस्या देखिएपछि कृषकहरू उन्नत जातको बीउमा आकर्षित भएको उनले बताए।

‘यहाँका बनौँ लगायतका क्षेत्रमा फल्ने आलुको बीउ लिनको लागि कहाँ कहाँदेखि मान्छेहरू आउँथे। तर आजभोलि ती रैथाने जातको आवश्यक परीक्षण नहुनु, एउटै जातको बीउ धेरै वर्षसम्म प्रयोग हुनु, किरा र कमिलाको प्रकोप बढी हुने लगायतका समस्याका कारण लगानी अनुसारको उत्पादन हुन सकेको छैन’, अध्यक्ष आचार्य भन्छन्, ‘हामीले नै तयार पार्ने उन्नत जातको बीउ अब हामीलाई बढी हुन्छ। रैथाने जातका आलु स्वादका लागि गज्जब भए पनि कृषकलाई आत्मनिर्भर बनाउन नसक्दा कृषकको रोजाइमा परेको छैन।’

आलुको बीउ उत्पादनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अवस्थामा संघीय सरकारले सहयोगको आश्वासन दिए पनि सहयोग भने नआएको गाउँपालिकाले बताएको छ। अब गण्डकी प्रदेश सरकारले केही न केही सहयोग गर्ने आसामा रहेको कृषि शाखा प्रमुख गौतम बताउँछन्।

जलजला गाउँपालिकाका विभिन्न स्थानको मौसम र माटोको अवस्था अनुसार कृषि प्राविधिकहरूले कार्त्तितक र मङ्सिरमा आलु लगाउँदा जनकदेव र खुमल उज्ज्वल जातको तथा पुस र माघमा आलु लगाउँदा जनकदेव र खुमल सेतो–१ लगाउन सुझाव दिएका छन्। जनकदेव जातको आलुलाई असिना र प्रकोपको रूपमा आउने डढुवाले पनि धेरै क्षति गर्न नसक्ने भएकाले कृषकलाई फाइदा हुने प्राविधिकहरूको सल्लाह छ। साभार थाहा खबर

 

Back to top button