बिहादीका ४५ जना किसानलाई मिनिटेलर हलो

पर्वत । परपूर्वकालदेखि यहाँका किसानले खेत जोत्न काठको हलो प्रयोग गर्ने गर्दर्थे । प्रत्येक घरमा एक हल गोरु पाल्ने गर्दथे तर, अहिले त्यो जमाना फेरिएको छ । अहिले किसानको घरमा न हलगोरु छन् न त हलो नै छ । कृषिलाई व्यावसायिक र कृषि पेशातर्फ उन्मुख किसानलाई पर्वतको बिहादी गाउँपालिकाले मिनिटेलर प्रदान गरेको छ ।

कृषिमा आधुनिकीकरया र व्यावसायीकरण गराउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटेलर प्रदान गरेको हो । गाउँपालिकाले किसानलाई ४५ वटा मिनिटेलर (हलो) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङ जानकारी दिनुभयो ।
आधुनिक प्रविधिसँगै खेतबारी जोत्न हलो छाडेर किसान आधुनिक उपकरण प्रयोग गर्न थालेको गुरुङको भनाइ छ । किसानको मागअनुसार सामग्री वितरण गरिएको अध्यक्ष गुरुङले बताए । गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्ति समेत नरहेकाले किसानहरुको माग यान्त्री हलो हुने गरेको छ । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको अध्यक्ष गुरुङको भनाई छ ।

एक हल गोरुले एक दिनभरीमा जोत्न सकिने जमिन यान्त्रीहलोले २ घण्टामा जोत्न सकिन्छ । हलो पाएसँगै किसानहरुले खेत जोत्न सहज हुने र समयको बचत हुने भन्दै खुशी जनाएका छन् । गाउँपालिकाले मिनिटेलर हलो खरिदका लागि गाउँपालिकाबाट दश लाख रुपैयाँ बिन्योजन गरेको थियो । माग र आवश्यकताका आधारमा किसानहरुलाई मिनिटेलर हलो वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख जीवनवहादुर शाहीले जानकारी दिनुभयो । उहाँले कृषिलाई यान्त्रिकरणमा जोडि उत्पादन लागत घटाउने हेतुका साथ यो कार्यक्रम कृषि बिकास शाखाबाट तय गरिएको बताउनु भयो ।

Back to top button