पर्वत अस्पतालमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्सरे सेवा प्रभावित

पर्वत। फलेवास नगरपालिका–१ कार्कीनेटाकी सावित्रा विक बुधवार बिहान ११ बजे भिडियो एक्सरेका लागि पर्वत अस्पताल परिसर भित्र छिरिन् । पाठेघरभित्र बच्चा बसेको वा नबसेको हेर्न आएकी विकलाई जव अस्पतालका नर्सहरुले सेवा बन्द रहेको कुरा जानकारी गराएपछि उनी निराश हुँदै फर्किईन । ‘जिल्ला अस्पतालमा राम्रो र गुणस्तरिय सेवा पाईएला भनेर आएकी थिएँ, भिडियो एक्सरे सेवा बन्द रहेछ अब कहाँ गएर एक्सरे गर्ने हो थाहा छैन,’उनले भनीन् ।

सावित्रा मात्र होईनन् पछिल्लो समय पर्वत अस्पतालमा भिडियो एक्सरे सेवा लिन आउने सेवाग्राहीहरु निराश हुँदै फर्किन थालेका छन् । जनशक्ति अभावका कारण पर्वत अस्पालतमा भिडियो एक्सरे सेवा प्रभावित बनेसँगै यहाँका नागरिकहरु मर्कामा परेका छन् । अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीले गुनासो गर्छन् ।

जनशक्ति अभावका कारण अस्पतालले हप्ताको दुई दिन मात्र भिडियो एक्सरे सेवा सुचारु गर्ने जनाएको छ । अस्पताल प्रशासनले सुचना नै जारी गरी हप्ताको दुई दिन सोमवार र बिहिवार सेवा सुचारु रहने जनाएको छ । उक्त भिडियो एक्सरे सेवा पनि गर्भवती महिला र इमर्जेन्सी अवस्थामा रहेका विरामी तथा सेवागा्रहीलाई मात्र प्रदान गरिने छ ।

पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जनशक्ति अभावका कारण भिडियो एक्सरे सेवा बन्द भएको र जनशक्ति परिपूर्ति भएपश्चात सम्पूर्ण विरामीहरुलाई नियमित सेवा प्रदान गरिने बताए । ‘भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एक जना एमडिजिपि डाक्टर हुनुहुन्थो, उहाँपनि सरुवा भएर बागलुङ जानुभयो, त्यसपछि समस्या भएको छ,’ अध्यक्ष गिरीले भने । उनले पर्वत अस्पतालको समस्याका विषयमा प्रदेश सरकार लगायत विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएको पनि बताए ।

Back to top button