लम्पी स्किन रोग नियन्त्रणका लागि उदाहरणीय काम गदै फलेवास नगरपालिका

रोगी पशुहरु खोज्दै किसानको गोठगोठमा पुग्छन पशु प्राविधिक

पर्वत । नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । असारको तेस्रो सातातिर सुरुमा मोरङ जिल्लामा देखिएको यस रोग एक महिनाभन्दा पनि कम समयमा झापा, सुनसरी, रौतहट, मकवानपुर, चितवन, तनहुँ, कास्की, काभ्रेपलाञ्चोक र काठमाडौंमा फैलिसकेको थियो । अहिले विभिन्न जिल्ला हुँदै पर्वतमा पनि यो रोग तीव्र रुपमा फैलिएको छ । पर्वतका सात वटै पालिकामा लम्पी स्किन रोगले पशु पालक कृषक समस्यामा परेका छन् ।

पर्वत जिल्लाका सात पालिका मध्ये फलेवास नगरपालिका पनि लम्पी स्किन रोगबाट अछुतो रहन सकेन । गत चैत्र २८ गते फलेवास नगरपालिका वडा नम्वर ९ भँगराको सिरुवारीमा किसानले पालेको एउटा गोरुमा उक्त रोग देखा परेको थियो । उक्त गोरुलाई आइसोलेसन राखि उपचार गरियो । उपचार पश्चात उक्त गोरु १६ दिनमा ठिक भयो । भँगरा सँगै त्यसपछि वडा नम्वर ६ देविस्थानमा पनि लम्पी स्किन रोग देखिन थाल्यो । देविस्थान लगायत त्रमश अहिले यो रोग अन्य वडामा पनि फैलिन थालेको छ ।

फलेवास नगरपालिकाका पशु विकास शाखा प्रमुख प्रताप पौडेलका अनुसार फलेवास नगरपालिमा ३ सय भन्दा बढी गाईगोरुमा यो रोग देखा परेको छ । हालसम्म ५ वटा मरेका छन् । पौडेलका अनुसार भैँसीमा यो रोग हालसम्म देखा परेको छैन । क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ । लम्पी स्किन रोग लागेका गाईवस्तुमा उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण गाईमा देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् । यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यस रोगमा देखिन्छन् । यस रोगबाट एउटा क्षेत्रमा सामान्यतः २० प्रतिशतजति गाई बिरामी हुने र १ देखि ५ प्रतिशतसम्म मर्न सक्छन् । धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने भएकाले खोरेँत रोगले जस्तै यो रोगले पनि ठूलो आर्थिक क्षति पु–याउन सक्छ

फलेवास नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक बजेट रकमान्तर गरेको छ । नगरपालिकाले पशु विकास शाखा अन्तर्गत आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रम मार्फत ३ लाख रुपैयाँ बिन्योजन गरेर काम गदै आएको शाखाले लम्पी स्किन रोग बढे सँगै बजेट अभाव भएपछि संघिय राजश्व बाँडफाँड शिर्षकबाट थप ५ लाख रुपैयाँ बिन्योजन गरेको हो । शुरुको चरणमा पशु विकास शाखा मार्फत विभिन्न सचेतनात्मक कार्यक्रम संचालन गरेको पशु विकास शाखाले रोग नियन्त्रणका लागि फिनेल, भिर्कोन लगायतका रसायनहरु निःशुल्क वितरण गरिसकेको छ । नेपालमा शुरुवाती चरणमा लम्पी स्किन रोग खोपको मान्यता थिएन । बैशाखको अन्तिम तिर स्वीकृत पाएसँगै नगरपालिकाले निशुल्क खोप खरिदका लागि बजेट बिन्योजन गरेको पौडेलले बताए ।

लम्पी स्किन रोग तीव्र गतिमा फैलिन थालेको र यसको उपचार पद्धति महँगो हुँदा पशुपालक कृषकलाई उपचारमा व्यापक आर्थिकभार पर्ने भएकाले नगरले खोप खरिद गरी निःशुल्क रुपमा उपचार गर्न थालेको पशु विकास शाखा प्रमुख पौडेलको भनाई छ । शाखाले उक्त रोगको नियन्त्रण र रोकथाम गर्नका लागि १० जना प्राविधिकहरुलाई किसानको गोठगोठमा खटाएको छ । लम्पी स्किन रोग लागेका पशुहरुको निरन्तर चेकजाँच तथा निःशुल्क रुपमा उपचार खट्टिएको पशु प्राविधिकहरुले बताएका छन् । हालसम्म १३ सय पशुमा निःशुल्क रुपमा खोप लगाईएको नगरपालिकाले जनाएको छ । पशुहरुमा रोग लागेर चिन्तित बनेका पशुपालक कृषकहरु निशुल्क उपचार सहित खोप पाउँदा हर्षित भएका छन् । गण्डकी संचार

Back to top button