जलजला गाउँपालिका वडा नम्वर ८ नाग्लिवाङले सार्वजानिक जग्गाको खोजी गर्न शुरु

पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्वर ८ नाग्लिवाङले सार्वजानिक जग्गाको खोजी गर्ने शुरु गरेको छ । सार्वजानिक जग्गाको दुरुपयोग बढ्दै गएपछि वडा कार्यालयले निर्णय नै गरेर सार्वजानिक जग्गाको खोजी गर्न थालेको हो ।

पहिलो चरणमा पुरानो गोरेटो बाटो लगायत फर्सेमा रहेको सार्वजानिक जग्गाको खोजी गरेको वडा अध्यक्ष हरि विकास जिसीले जानकारी दिए । सार्वजनिक जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न वडा कार्यालयले टोली सहित नक्सा लिएरै संभावित स्थानमा पुगेको थियो । वडा अध्यक्ष जिसीका अनुसार शनिवार जनप्रतिनिधी सहित अमिन र प्रहरीेहरुको रोहवरमा साविकको गोरेटो बाटो, नदी र वन क्षेत्र लगायतका जग्गा छुट्टाउने काम गरेको छ । गाउँमा पुगेको टोलीले त्यहाँ अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेको छ ।

वडा कार्यालयले सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन नापजाँच गरेको हो । स्थानीयले आफ्नो नाममा रहेको जमिन आडैमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जिसीले बताए । वडा कार्यालयले दोस्रो चरणमा कालीगण्डकी नदी र वन क्षेत्र वरपर रहेका जग्गाको खोजी गर्ने अध्यक्षको भनाई छ ।

वडा कार्यालयले आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक छैन । तथ्यांक नहुँदा काम गर्न कठिनाई भएकाले वडा कार्यालयले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजि अभियान अघि बढाइएको अध्यक्ष जिसीले बताए । वडा अध्यक्ष जिसीले सार्वजनिक जग्गा वडा कार्यालयले संरक्षण गर्ने र आवश्यकताअनुसार प्रयोग गर्ने बताए ।

जलजला गाउँपालिकाका प्रवक्ता समेत रहेका जिसीले गाउँपालिकाले पालिका भित्र रहेका सार्वजनिक जग्गा खोजी गर्न अभियान थालेको र अभियानको शुरुवात नाग्लिवाङ वडा कार्यालयबाट भएको बताए । उनले मालढुङगा–बेनी (हाईवे) सडक खण्डमा पर्ने १५ हजार ४६५ जग्गा खोजी गर्न गाउँपालिकाले छिट्टै गृहकार्य थाल्ने जानकारी दिए ।

Back to top button