
काठमाण्डौ – बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधवार शल्यक्रिया गरिएको हो ।
धवलागिरि अस्पतालका डा.विनित ढकाल, डा.समिर लामिछाने, डा.प्रमेश थापा, डा.राजन शर्मा, डा.अमित ढुङ्गानालगायत डाक्टरकाे टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले जानकारी दिनुभयो ।
‘यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ,’ उहाँले भन्नुभयो । अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा.प्रधानले बताउनुभयो ।
यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाण्डाैलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ ।
पछिल्लो समय विशेषज्ञ डाक्टर थप भएसँगै अस्पतालले ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।