
काठमाडौं । सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।
उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक (२८ औंपटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।
सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए ।