ढोरपाटनका नगरप्रमुख तीन दिनदेखि सम्पर्कविहीन

पर्वत । स्थानीयको करोडौं रकम हिनामिनाको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । शुक्रबारदेखि नै नेपाली सम्पर्कमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । उनी करोडौं रकम हिनामिना गरेर भागेको हुनसक्ने आशंकामा प्रशासनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन आग्रह गरेको छ ।

नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । सयौं मानिस उनको कार्यालयमा दैनिक भुक्तानी माग्न जाने गरेका थिए । नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए । प्रशासनका अधिकारीले भने उनले एक अर्बभन्दा बढी रकम हिनामिना पारेको आशंका गरेका छन् । आफ्नो जायजेथा बेचेर भए पनि तिर्ने प्रतिबद्धता व्यक्त गरेका नेपालीको परिवार नै सम्पर्क विहीन भएको स्थानीयहरूले बताएका छन् ।

जिल्लाका सहकारी सम्बद्ध पदाधिकारीले पहल गरेपछि नेपालीले घर बेचेर भए पनि बचत फिर्ता गर्ने बताएका थिए । एक महिनादेखि उक्त सहकरीका बचतकर्ताले बढीमा ५ हजार मात्रै फिर्ता पाएका थिए । उक्त सहकारीले १८ प्रतिशत व्याज दिने भनेपछि सयौं गैरशेयर सदस्यले करोडौं बचत गरेका थिए ।

केही दिनदेखि भने नेपालीले प्रहरीलाई खबर गरेर मानसिक तनाब बढेकाले उपचारका लागि विदेश जाने तयारी गरेको जानकारी दिएका थिए । त्यसपछि उनले मोबाइल बन्द गरेर हिँडेकोले प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले खोजीका लागि गृहमन्त्रालयमा समेत पत्राचार गरेको बताइन् । जेठ १ गते बागलुङ आएका नेपाली बुर्तिवाङ फर्केपछि सम्पर्कमा नरहेको बताइएको छ । नेपालीका चालकसमेत सम्पर्कमा नभएकोले सपरिवार भागेको हुनसक्ने स्थानीयले समेत आशंका गरेका छन् । साभार ः कान्तिपुर दैनिकबाट

Back to top button