पर्वतमा २ सय बढि चालक र सहचालकको आँखा परिक्षण

पर्वत । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि पर्वतमा सवारी चालक र सहचालकको सडकमै आँखा जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले संचालन गरेको ट्राफिक सप्ताह अन्तर्गत शनिवार मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत चुवामा शिविर संचालन गरेर आँखा जाँच गरिएको हो ।

पर्वतमा सामाजिक क्षेत्रमा सक्रिय लायन्स क्लव अफ पर्वत गुप्तेश्वर र ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजना तथा पर्वत अस्पतालको प्राविधिक सहयोगमा आँखा जाच गरिएको हो । शिविरमा मध्यपहाडी लोकमार्गमा संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधनका २ सय जना भन्दा बढि चालक र सहचालकको आँखा परिक्षण गरिएको थियो ।

त्यसैगरी सुगर, प्रेसर समेत जाँच गरिएको थियो । आँखामा हुने कमजोरी तथा अन्य स्वास्थ्य अवस्था ठिक नहुँदा पनि चालक र सहचालकवाट सवारी दुर्घटनामा पर्न सक्ने र यसले मानविय क्षति, अंग भंग तथा सवारी साधनहरु तोडफोड हुने जस्ता घटना घट्ने भएकाले आँखा परिक्षण शिविर संचालन गरिएको लायन्स क्लवका जोन चियर पर्सन अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो । चालक तथा सहचालकको पर्वत अस्पतालका मेडिकल अधिकृत मनिस सिंह लगायतले परिक्षण गर्नुभएको थियो ।

सो अवसरमा चालक तथा सहचालकले सडकमै आँखा लगायत स्वास्थ्य परिक्षण गरेर आफुहरुलाई स्वास्थ्यवारे सचेत बनाएको भन्दै हर्षित बनेका थिए । ट्राफिक सप्ताह अन्तर्गत वैशाख २५ गतेदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले विभिन्न गतिविधि संचालन गर्दै आएको छ । सोहि सप्ताहलाई मध्यनजर गर्दै आँखा परिक्षण शिविर संचालन गरिएको निर्जनले बताउनुभयो । लायन्स क्लव अफ पर्वत गुप्तेश्वरका अध्यक्ष कल्पनाकुमारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सुभन्तनाथ सुवेदीले गर्नुभएको थियो ।

Back to top button