सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्न जलजलाको अनुरोध

पर्वत । पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ ।

गाउँपालिकाले शैक्षिक सत्र २०८० बाटै लागु हुने गरी सो अनुरोध गरेको हो । गाउँ कार्यपालिकाको वैशाख ५ गतेको निणर्य अनुसार अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गरिएको गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि सो निणर्य गरिएको हो । सार्वजनिक पद धारण गरी पालिकाभित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएका व्यक्तिका सन्तान आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरेर पठाउनुपर्ने नियम लागु गरिएको उहाँले बताउनुभयो ।

सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभिावक संघका पदाधिकारी लगायतले अनिवार्य रुपमा आफ्नो सन्तालाई सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने भएको हो । सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति वा शिक्षकको रुपमा रहेका हुन्छन् तर आफ्नो सन्तान संस्थागत विद्यालयमा अध्यापन गराँउदै आएका हुन्छन् । उहाँले सचेत अभिभावकले विद्यालयको शैक्षिक प्रणाली र ब्यवस्थापनको निगरानी गर्ने भएकोले शिक्षाको गुणस्तरीयतामा बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । आफू सामुदायिक विद्यालयमा कार्यरत रहे पनि आफ्नो सन्तानलाई संस्थागत विद्यालयमा पढाएकोले शिक्षामा गुणस्तर वृद्धि नभएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो । आफ्नो सन्तानले पढेपछि विद्यालय र शिक्षकलाई अभिभावकले पनि सचेत गराउनु हुन्छ, उहाँले भन्नुभयो ।

उहाँका अनुसार गाउँपालिकाले पालिका क्षेत्रमा बसोबास गर्ने सार्वजनिक व्यक्तिको तथ्यांक संकलन गर्नको लागि आवश्यक तयारी गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष आचार्यले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, जनताको जिम्मेवारी बोकेका जनप्रतिनिधि र राज्यलाई सञ्चालन गर्ने कर्मचारीहरूले नै आफ्ना सन्तानलाई निजी विद्यालयमा राख्दा सामुदायिक विद्यालयमा आवश्यक सुधार आउन नसकेको भन्दै यो निणर्य गरेको बताउनुभयो । यस अघि पर्वतको पैंयु गाउँपालिकाले पनि यस्तो नियम लागु गरेको छ ।

Back to top button