सरकार र महावीर पुनबीचको वार्ता सकारात्मक, आज बेलुकासम्म वार्ता टोली बनाउने समझदारी

काठमाण्डाै – सरकार र माइतीघरमा धर्ना बस्दै आएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज आइतवार भएको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच सकेसम्म आज बेलुकासम्म वार्ता टोली गठन गर्ने र थप छलफल अगाडि बढाउने निर्णय भएको वैज्ञानिक पुनले जानकारी दिनुभएको छ ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच आज रक्षा मन्त्रालयमा छलफल भएको थियो । आफ्ना माग सरकारले भोलि साेमवारसम्ममा पूरा गर्ने प्रतिबद्धता जनाएको पनि पुनले बताउनुभयो । भोलिसम्ममा कागजमा कस्तो हुन्छ, त्यसलाई हेरेर थप निर्णय गर्ने पनि उहाँको भनाइ छ ।

वैज्ञानिक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा बजेट मागसहित अस्ति शुक्रवारदेखि माइतीघरमा धर्ना थाल्नुभएको हो । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएपसम्म धर्ना कायम रहने उहाँको भनाइ छ । उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्नेलगायतका माग गर्नुभएको छ ।

माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक पुनलाई युवा तथा विभिन्न राजनीतिक दल र सङ्घ–संस्थाले पनि साथ दिएका छन् ।

Back to top button