दुई वर्षदेखि रोकिएको फलेवास नगर अस्पतालको निर्माणकार्य शुचारु

पर्वत । बिभिन्न जटीलताका कारण विगत २ वर्षदेखि रोकिएको फलेवास नगर अस्पतालको निर्माणकार्य अघि बढाउने प्रकृया शुरु भएको छ । बिहिबार फलेवासको नगर कार्यपालिकाको बैठकले नगरअस्पतालको निर्माणकार्य तुरुन्त अघि बढाउने निर्णय गरेको हो । फलेवास नगरपालिकाको वडा नं. ६ देविस्थानमा नगर अस्पताल निर्माण गर्न आर्थिक वर्ष २०७७/०७८ मा बोलपत्र आव्हान भई मिति २०७८/०३/३१ मा सम्झौता भएको थियो ।

निर्माण व्यवसायी प्रतिष्ठा–जुम्ली–आचार्य जे.भि। बाग्लुङले निर्माणस्थल परिवर्तन संगै शंसोधित भएको आर्किटेक्चरल, स्ट्रक्चरल, स्यानिटरी, इलेक्ट्रिकल डिजाइन बमोजिम सम्झौता भएको थियो । उक्त अस्पतालमा सम्झौता बमोजिमका आइटमको परिमाणमा थपघट, माटो कटिङ लगायतका प्रकृयाका कारण निर्माणकार्य करिव २ वर्ष अघिदेखि रोकिएको थियो । अस्पताल भवनको डिपिआर स्वीकृत नभई निर्माण गर्दैगर्दा भवन निर्माणस्थल परिवर्तन भएको र परिवर्तित निर्माणस्थल बमोजिम नक्सा शंसोधन गर्न लगाई प्रकृया अघि बढाइएको हो ।

तत्कालिन समयमा भएको भवन निर्माणको प्रकृयाका क्रममा कुनै आइटम घटेको र केहि आइटम थप गर्नुपर्ने भएकोले शंसोधित डिजाइन बमोजिम निर्माण गर्न सहमत भइ निर्माण सम्झौता गरेको व्यवसायी कम्पनीले यहि बैसाख ४ गते भेरिएसन प्रस्ताव पेश गरेको थियो । सोहि प्रस्ताव बमोजिम आगामी नगरसभाबाट अनुमोदन गर्नेगरी स्वीकृत गर्ने साथै थप म्याद भित्र भेरिएसन आदेश बमोजिम निर्माणकार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई शंसोधित कार्यादेश दिन फलेवास नगरपालिकाको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिनुभयो ।

Back to top button