पर्वतमा एक सातामा दर्जन बढी सामुदायिक वनमा डढेलो

पर्वत । पर्वतमा एकसाता यता सामुदायिक बनमा डढेलो लाग्ने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार चैत २५ देखि जिल्लामा आगलागीका घटना सुरु भएकोमा वैशाख दुई गतेसम्म एक हप्ताको अवधिमा १६ स्थानमा रहेका बनमा आगलागीका घटनाहरू भएका छन् । चैत २५ गते साँझ करिब साढे पाँच बजेको समयमा कुश्मा नगरपालिका–१ पाङको मसुरबाटीबाट आगलागीको सुरुवात भएको थियो। त्यो करिब १२ घण्टापछि भोलिपल्ट बिहान पाँच बजे सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासबाट नियन्त्रणमा आएको थियो ।

चैत २५ गते नै पैयुँ गाउँपालिका–३ बेहुलीबासमा, महाशिला गाउँपालिका–१ होश्राङदीको कुवापानी सामुदायिक बनमा, फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा व्यक्तिको पाखो बारीको भीरमा आगलागी भयो । ती सबै स्थानका आगलागीहरू कहीँ सुरक्षाकर्मीले त कहीँ स्थानीयले नियन्त्रणमा लिएका छन् । चैत २६ गते जलजला गाउँपालिका–८ नाग्लीवाङबाट सुरु भएको आगो नियन्त्रणमा लिन दुई दिन लाग्यो। तल्लो भागबाट माथिल्लो भागतर्फ सरेको आगोले बन क्षेत्रबाट बस्तीमा लगिएका पानीका पाइपलाइन बगाएर त्यहाँका गाउँहरू अझै पनि खानेपानीको समस्यामा छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले लगातार दुई दिनसम्म दिनरात नभनी नियन्त्रणमा लागेपछि मात्रै डढेलो नियन्त्रणमा आयो ।

चैत २६ मा नै मोदी गाउँपालिकाको गिज्यानमा रहेको एक्ले फाँट सामुदायिक बनमा, कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गामाथिको भीरमा, चैत २८ गते फलेवास नगरपालिका–८ ठानामौलामा रहेको सामुदायिक बनमा, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको झाँक्री खोला सामुदायिक बनमा, फलेवास नगरपालिका–१० कुर्घामा रहेको कुर्घा सामुदायिक बनमा आगलागी भयो। चैत २९ मा कुश्मा नगरपालिका–२ खुर्कोटमा, नयाँ वर्षको दिन वैशाख एक गते कुश्मा नगरपालिका–८ चुवामा रहेको लहरे पानी रातो माटो सामुदायिक बनमा र वैशाख दुई गते फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बनमा आगलागी भएको छ ।

प्रहरी नायव उपरीक्षक न्यौपानेले आगो लाग्नुको कारणबारे स्थानीय नागरिक नै जानकार हुने भएकाले आगलागी हुन नदिन स्थानीय नागरिक नै बढी सक्रिय हुनुपर्ने बताउँछन्। विभिन्न ठाउँमा एकै पटक आगलागी भएको अवस्थामा सीमित स्रोत र साधनको पहुँचमा रहने सुरक्षाकर्मीले मात्रै आगो नियन्त्रणमा लिन सम्भव नहुने उनको भनाइ छ ।

डिभिजन बन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले धेरै ठाउँमा भएका आगलागीहरू नियन्त्रणमा आएको भए पनि केही नयाँ वनहरूमा पनि आगलागी भइरहेको खबर आएका बताएका छन्। नियन्त्रणमा लिएर फर्किएका केही बनमा दोहोरिएर आगो लागेका कारण पनि आगलागीको घट्नाका सङ्ख्या धेरै देखिएको उनको भनाइ छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरणहरू सङ्कलनको काम चलिरहेको जानकारी दिए । आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि अधिकारी बताउँछन् ।साभार गण्डकी संचार

Back to top button