पर्वत अस्पतालका उपलब्धीहरु यस्ता छन्

पर्वत । पर्वत अस्पतालले चालु आर्थिक वर्षको ६ महिनामा सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र कार्यप्रगतिका विवरणहरु सार्वजनिक गरेको छ । अस्पतालले जिल्लाका सरोकारवाला निकाय र पत्रकारहरुलाई समावेश गरी आयोजना गरेको अर्धवार्षिक समीक्षा एवं सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका काम तथा सेवाहरुको बारेमा जानकारी गराइएको हो । जसमा चालु आर्थिक वर्षका मुख्य उपलब्धिका रुपमा बिभिन्न १२ वटा कामहरुलाई राखिएको छ । तिनीहरु इलेक्ट्रोनिक बिलिङ सिस्टम, एक्सरेका लागि पोर्टेबल डि.आर मसिन, बिल र टिकटका लागि टोकनको व्यवस्था, एम.एस.एस. स्कोरमा ८४ प्रतिशत आउनु, अटो जेनेरेटर सिस्टम, कन्सल्टेन्ट चिकित्सकद्धारा स्वास्थ्य सेवा प्रवाह, नयाँ भवनबाट ५० शय्या क्षमतामा सेवा प्रवाह गर्न सक्नु, न्यूरीसिन बेडहरुलाई १० क्षमतामा अभिबृद्धि गरिनु रहेका छन् ।
अस्पताललाई सि.सि.क्यामेराको निगरानीमा राखिनु, साइरन प्रणालीको जडान, अस्पताल हाताभित्र फूलबारी निर्माण र नयाँ भवनको प्रत्येक तलामा फिल्टर भएको पिउनयोग्य पानीको व्यवस्था गरिनुलाई पनि उपलब्धिका रुपमा समावेश गरिएको छ ।

अस्पतालका सेवाहरुको बारेमा जानकारी दिँदै निमित्त मेडिकल सुपरीटेन्डेन्ड डा. रुक्मीना अधिकारीले साउनदेखि पुससम्म अस्पतालको ओ.पि.डि.बाट मात्रै १९ हजार दुई सय २१ जनाले सेवा लिएको बताईन् । अस्पतालमा रहेका शय्याहरुको अकुपेन्सी दर ४३ प्रतशित रहेको तथा सोही अवधिमा अस्पतालको आकस्मिक कक्षबाट पाँच हजार तीन सय ५८ जनाले सेवा लिएको उनको भनाई छ । छ महिनाको अवधिमा ५५ ओटा ठूला खालका र आठ सय ८० ओटा सामान्य खालका शल्यक्रियाहरु गरिएका छन् । यस्तै प्रति दिन औसतमा २० जनाका दरले एक्स–रे र प्रयोगशालामा औसतमा दुई सय ४२ ओटा परीक्षणहरु भइरहेको पनि निमित्त मेडिकल सुपरीटेन्डेन्ट अधिकारीको भनाई छ ।

छ महिनाको अवधिलाई पछिल्ला तीन वर्षको तथ्याङ्कसँग दाँजेर हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुत्केरी सेवा प्रदान गरिएको छ । २०७७ सालको साउनदेखि पुससम्म दुई सय एक जनाले सामान्य रुपमा, ३३ जनाले सामान्य शल्यक्रिया गरेर तथा नौ जनाले जटील शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । २०७८ सालमा यो सङ्ख्या बढेर सामान्यमा एक सय ४६, सामान्य शल्यक्रियामा ४५ जना र जटील प्रकृतिका शल्यक्रियाको सङ्ख्या १९ पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा सामान्य रुपमा एक सय ३० जनाले, सामान्य शल्यक्रियाबाट ५४ जनाले र जटील शल्यक्रियाबाट सात जनाले बच्चा जन्माएका छन् ।
साउनदेखि पुससम्म २४ हजार पाँच सय ७७ जनाले हस्पिटल सेवा लिँदा पाँच हजार तीन सय ५८ जनाले आकस्मिक सेवा लिएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले स्रोत साधनको अभावकाबीच पनि पर्वत अस्पतालले प्रवाह गरिरहेको सेवाप्रति धन्यवाद व्यक्त गरे । आफूले निजी अस्पतालको सेवामा भन्दा सरकारी अस्पतालको सेवामा विश्वास गर्दै आएको बताउँदै उनले स्रोत र साधनले भरीपूर्ण हुने हो भने गुणस्तरीय सेवा प्रदानमा समस्या नै नहुने उल्लेख गरे । बेला बेलामा नसोचेका प्रकोप र समस्याहरु आउने गरेकोले तयस्तो अवस्थालाई नियन्त्रणमा लिनका लागि अस्पताल स्रोत र साधनसहित तयारी अवस्थामा रहनुपर्ने प्रजिअ अधिकारीको भनाई छ । पर्वत अस्पतालका लागि आवश्यक जनशक्ति राज्ले नदिँदा पनि अस्पताल स्रोतबाट जनशक्ति राखेर सेवा प्रवाह गरिनु खुसीको कुरा भएको उनले बताए ।

यस्तै अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले पहिलेको तुलनामा पर्वत अस्पतालमा धेरै सुबिधाहरु थप हुँदै गइरहेको भन्दै पर्वत सहित बागलुङ र म्याग्दीका बिरामीले समेत लिन पाउनु खुसीको कुरा भएको बताए । अस्पतालका लागि बनेको नयाँ भवनबाट सेवा प्रवाह गर्न थालिएसँगै उपचारका बिभागहरु छुट्याएर उपचार सेवा दिन पाउँदा व्यवस्थापनमा सहज भएको गिरीको भनाई छ । अहिले दैनिक करिब तीन सय जनासम्मले ओ.पी.डी बिभागबाट सेवा लिएको अवस्थाका बारेमा बताउँदै उनले यही विश्वायसलाई कायम राखीराख्न चुनौतीपूर्ण हुने तर्क गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष सन्तोष थापाले अस्पतालले सम्पादन गरेका कामहरुको बारेमा सरोकारवालाहरुकोबीच छलफल गर्नु तथा सेवा र कामका बारेमा नागरिकलाई सार्वजनिक गर्नु असल अभ्यास भएको बताए । अस्पतालसँगको सहकार्यमा पत्रकारमहासंघले विगतमा केही कार्यक्रमहरु गर्न खोजेको भए पनि कोभिड–१९ का कारण ती कार्यक्रमहरु पूरा गर्न समस्या भएको उनको भनाई छ ।
अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत प्रकाश पौडेलले गरेका थिए ।

Back to top button