कुश्मा नगरपालिकाले फोहोरबाट आम्दानी गर्दै

पर्वत । बजारक्षेत्रको फोहोर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको पर्वतको कुश्मा नगरपालिकाले फोहोर बर्गिकरण गरेर व्यवस्थापन सुरु गरेको ३ वर्ष पुग्यो । नगरभित्रको फोहोरलाई कुहिने र नकुहिने गरी व्यवस्थापन सुरु गरेको कुश्माले २ वर्षदेखि फोहोरबाट आम्दानीसमेत गर्न थालेको छ । कुश्मा–४ छमर्केस्थीत घुम्तीमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

जग्गा छनोटमा ३ वर्षसम्म संघर्ष गरेको कुश्माले २०७६ फागुनमा मध्यपहाडी लोकमार्गको छमर्के घुम्तीदेखि ५ सय मिटर तल जंगलभित्रको खाली जग्गा फेला पारेको थियो । ३२ रोपनी जग्गा पालिकाले १० वर्षका लागि लक्ष्मीनारायण गुठी तथा अन्य ४ व्यक्तिसँग भाडामा लिएर फोहोर व्यवस्थापन सुरु गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताए । उनका अनुसार सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र ९सेक्रेट नेपाल० सँगको साझेदारीमा ५ वर्षे सम्झौता गरी फोहोरको व्यवस्थापन थालेको हो ।

नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ वडाभित्रको फोहोर संकलन गरी व्यवस्थापन सुरु गरिएको हो । त्यसअघि मोदीवेणी, बडागाउँ डिल, सिल्मी, चुवाको डिललगायत जग्गा छनोट गरिएकोमा विवाद भएको थियो । केही समय गुप्तेश्वर बहुमुखी क्याम्पसको छेवैमा पोखरा–बाग्लुङ सडक र बडागाउँको डिलबाट फोहोर विसर्जन गर्दा स्थानीय र सरोकारवालाले विरोध गरेपछि नगरले विकल्प खोजेको हो । त्यसरी फालेको फोहोर सिधै कालीगण्डकीमा मिसिने र त्यसले वातावरणमा गम्भीर असर पर्ने गरेको भन्दै पुनरावेदन अदालत बागलुङमा रिट निवेदन परेको थियो ।

कुश्माले कुहिने फोहोरलाई खाडलमा थुपारेर कम्पोस्ट मलको रूपमा बिक्री गरिने सूचना अधिकारी ध्रुवराज पौडेलले बताए । सेक्रेट संस्थाका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिनेभन्दा नकुहिने फोहोरबाट राम्रो आम्दानी हुन्छ । अहिले सेक्रेटले फोहोर वर्गीकरणमा मात्रै १२ कामदार खटाएको छ । व्यवस्थित वर्गीकरण सुरु भएपछि दैनिक १० हजारसम्म आम्दानी हुन सक्ने अनुमान गरिएको भए पनि अपेक्षित जग्गा नहुँदा व्यवस्थापनमा केही समस्या भएको भुसालले जनाए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पूर्वाधार र गाडीको व्यवस्थापन गरेको छ ।

नगरभित्रका विभिन्न होटल व्यवसाय तथा ससाना उद्योग कलकारखानाबाट निस्किने सिसा र प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा फलेवासलाई समस्या छ । अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाले प्लास्टिकजन्य फोहोर जलाउने गरेको भए पनि सिसाजन्य फोहोर व्यवस्थापनमा समस्या भएको नगरका प्रवक्ता अच्यूत तिवारीले बताए ।

मदिरा तथा सर्वसाधारणले प्रयोग गर्ने औषधिका बोतल व्यवस्थापन सहज नहुँदा नगरभित्र वातावरणीय प्रदूषण बढ्दो छ । फलेवासले गतवर्ष सिसाजन्य फोहोर संकलन गरेर खाडल खनेर दबाएको जनाएको छ । तर, उक्त प्रक्रिया पनि दिगो र भरपर्दो हुने नदेखिएपछि चालु वर्ष उक्त कार्यक्रम सञ्चालन गरेको छैन ।साभार कान्तिपुर दैनिक

Back to top button