नेपाली काँग्रेस पर्वतले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने

पर्वत । नेपाली काँग्रेस पर्वतले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । कार्यकर्ताको माग बमोजिम पार्टीको प्रशिक्षण विभागले यही चैत्र २७ र २८ गते कुश्मामा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको विशेष उपस्थितिमा सोमवार विहान पार्टी कार्यालयमा बसेको विभागको वैठकले प्रशिक्षण कार्यक्रमको मिति, प्रशिक्षक र प्रशिक्षणको विषयवस्तु समेत छनोट गरेको छ ।

आवासीय रुपमा कुश्मामा आयोजना गर्न लागिएको प्रशिक्षणमा नेपाली काँग्रेसको सांगठनिक आधार स् विगत र वर्तमानसँगै लोकतान्त्रिक नेतृत्वको आचरण र व्यवहारमा बरिष्ठ पत्रकार एवं बरिष्ठ प्रशिक्षक पुरुषोत्तम दाहालले प्रशिक्षण दिनुहुनेछभने नेपाली काँग्रेसको सांगठनिक सुदृढिकरण र कार्यकर्ताको दायित्वको विषयमा पार्टी केन्द्रीय सदस्य मिन विश्वकर्माले प्रशिक्षण दिनुहुनेछ । त्यसैगरि नेपाली काँग्रेसको सरकारको नेतृत्वमा भएका विकासका आधारस् विगत र वर्तमानका विषयमा पार्टी केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व अध्यक्ष डाक्टर गोविन्द पोखरेलले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । साथै मुलुकको आर्थिक समृद्धि र विकासका लागि काँग्रेसको आगामी कार्यदिशाको विषयमा अर्थविज्ञ स्वर्णिम वाग्लेले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

वैठकमा आफ्नो धारणा राख्दै पार्टी नेता एवं पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले कार्यकर्ताको माग बमोजिम पार्टीले प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्नुभयो । नेता जोशीले कार्यक्रममा आमन्त्रित प्रशिक्षकहरु देशकै उत्कृष्ठ प्रशिक्षक भएकोले सहभागीहरु पनि सोही मर्यादामा रहेर प्रशिक्षण लिनुपर्ने वताउनु भयो । ‘यस्ता प्रशिक्षण कार्यक्रम सँधै सम्भव हुँदैन, त्यसैले सहभागीले प्रशिक्षणको गाम्भीर्यता र विषयवस्तुप्रतिको महत्वलाई बुझ्नुपर्छ ।’– उहाँले भन्नुभयो । नेता जोशीले प्रशिक्षकहरुलाई पर्वत ल्याउन र प्रशिक्षणलाई अर्थपूर्ण बनाउन आफ्नो तर्फबाट समन्वयात्मक भूमिका समेत खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेशसभाका पदाधिकारीहरु, ७ वटा पालिकाका सभापतिहरु र भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु सहभागी गराइने पार्टी प्रशिक्षण विभागका संयोजक तथा पार्टी उपसभापति डाक्टर चुडामणि शर्माले जानकारी दिनुभयो । उहाँले प्रशिक्षणको प्रभावकारितालाई थप व्यवस्थित बनाउन सहभागी आचारसंहिता र अनुशासनलाई कडा पार्ने समेत जानकारी दिनुभयो ।

बैठकले प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । जसमा प्रचारप्रसार तथा जनसम्पर्क उपसमितिको संयोजकमा डाक्टर चुडामणि शर्मा, तालीम व्यवस्थापन तथा स्थल चयन उपसमितिको संयोजकमा बसन्तकुमार कर्माचार्य, रजिष्ट्रेसन तथा प्रमाणपत्र उपसमितिको संयोजकमा गोविन्द पोखरेल, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा शिव पौडेल र भोजन तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा उत्तमप्रसाद अधिकारी रहनु भएको छ ।

जिल्ला स्तरीय प्रशिक्षणसँगै पार्टीले सातै पालिकामा पुगेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको पार्टी सभापति युवराज जोशीले जानकारी दिनुभयो । ‘जिल्ला स्तरीय प्रशिक्षणबाट नयाँ प्रशिक्षक उत्पादन गरि ती प्रशिक्षकको माध्यमबाट हामी सातै पालिकामा पुग्छौँ ।’ सभापति जोशीले भन्नुभयो । उहाँले प्रशिक्षणका लागि गाउँ गाउँबाट कार्यकर्ताको व्यापक माग रहेकोले पार्टीले प्रशिक्षण कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम शुरू गरिएको वताउनुभयो ।

प्रशिक्षण विभागका प्रमुख डाक्टर चुडामणि शर्माको सभापतित्वमा भएको उक्त बैठकमा पार्टीका अर्का उपसभापति शिवप्रसाद सुवेदी र नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य ओमप्रसाद शर्मा घायलको विशेष उपस्थिति रहेको थियो । गण्डकी संचार

Back to top button