पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न

पर्वत। पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशाला पोखरा र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा माटो परिक्षण गरिएको हो ।

माटोको अवस्था पहिचान गर्न घुम्ति मोवाइल भ्यान मार्फत फागुन ८ र ९ गते मिलनचोकमा कृषकहरुले खेतबारीबाट ल्याएको माटोको नमुना परिक्षण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख राजु गौतमले जानकारी दिनुभयो ।

“दिगो कृषि उत्पादनका लागि माटोको भौतिक, रासायनिक तथा जैविक गुणहरु महत्वपूर्ण हुने हुँदा उर्वराशक्तिको अवस्था र व्यवस्थापनको उपाय पहिचान गर्न परिक्षण गरिएको हो,” उहाँले भन्नुभयो “मोवाइल भ्यानमा उपकरण सहित प्रयोगशालाबाट आएको टोलीले माटो परिक्षण गरेर तत्कालै कृषकहरुलाई सुझाव सहितको प्रतिवेदन दिनुभएको छ ।”

?उश्रजलजला गाउँपालिकाको विभिन्न वडाका कृषकहरु माटोको नमुना बोकेर शिविर सञ्चालन भएको स्थान मिलनचोकमा आएका थिए । १०२ वटा नमुना माटोमा नाइट्रोजन, फस्फोरस, पोटास, पिएच र प्राङगारिक पदार्थको परिक्षण गरिएको थियो । ६६ वटा नमुनामा अम्लिय र ३६ वटा नमुना तटस्थ पाइएको प्रयोगशालाका प्राविधिक खुबराज बरालले बताउनुभयो ।

“माटोमा अम्लियपन छ भने बिरुवाले माटोमा भएको खाद्यतत्व लिन सक्दैन । त्यसले गर्दा लक्षित उत्पादन लिन सकिन्न भन्ने संकेत गर्छ,” उहाँले भन्नुभयो “रासायनिक मल –डिएपी, युरिया, पोटास० जति हालेपनि अम्लियपनामा सुधार नभएसम्म बिरुवाले लिन सक्दैन । त्यसैले कृषि चुन छरेर माटोको उपचार गर्न किसानलाई सुझाव दिएका छौं ।”

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले माटोमा आवश्यक तत्वहरुको अवस्था पहिचानका साथै कुन ठाउँमा के खेती गर्न सकिने सम्भावना छ भनेर पहिचान गर्न माटो शिविर गरिएको बताउनुभयो । नाइट्रोजनयुक्त रासायनिक मल तथा विषादीहरुको बढ्दो प्रयोग र भुक्षयका कारण माटोमा अम्लियना बढेको छ । माटो परिक्षणको प्रतिवेदन र प्राविधिकको सिफारिस मात्राका आधारमा कृषकलाई निशूल्क कृषि चुन उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

Back to top button