पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण, कारबाही गर्न माग

पर्वत । पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी एक जना घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा उनीहरुमाथि आक्रमण भएको घटनाको प्रारम्भिक अनुसन्धानबाट देखिएको र घट्नमा संलग्न एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आक्रमणमा पर्ने दुवै जना व्यक्ति म्याग्दीमा रहेको एनआईसी एसिया बैंकमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

घट्नामा संलग्नलाई कारबाही गर्न माग

बैंक सञ्चालकहरुको संस्था सीबीफीनले म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको जनाएको छ । बिहीबार उनीहरुमाथि नियोजित रुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको सीबीफीनले जनाएको छ ।

बिहीबार सिबिफिनले एक विज्ञप्ति जारी गर्दै सापकोटा र रआलेमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण बढ्दै गएको भन्दै त्यस्ता कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न सीबीफीनले माग गरेको हो ।

जाजरकोटमा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुरमा कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादती तथा म्यग्दीमा आज बैंकका कर्मचारीमाथि ज्यान लिने गरी आक्रमण गरिएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको सीबीफीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।साभार–अन्लाईन खवरवाट

Back to top button