पर्वतको ठुलीपोखरीमा आजदेखि बृहद निशुल्क स्वास्थ्य शिविर

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा आजदेखि बृहद विशेषज्ञ स्वास्थ्य शिविरसंचालन हुने भएको छ ।
निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो । शिविर संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रयालयसँगको समन्वय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश, पर्वत अस्पताल र स्वास्थ्य कार्यालयको सहयोग रहेको छ । फागुन २१, २२ र २३ गते गरी तीन दिन सम्म संचालन हुने शिविरको व्यवस्थापनको कार्य सम्पन्न भएको वडा अध्यक्ष रिमालले जानकारी दिनुभयो ।

शिविरका लागि निजामती कर्मचारी अस्पतालवाट विषेशज्ञ चिकित्सक सहितको झण्डै ५० जनाको मेडिकल टिम शनिवार साँझ ठुलीपोखरी आईपुगेको छ । शिविरको आइतवार विहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको सवैजसो संयोजक वडा अध्यक्ष रिमालले गर्नुभएको हो ।

शिविरमा प्रसुती तथा स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग, फिजिशियन सेवा, फेमिली मेडिशिन सेवा, यौन तथा चर्मरोग, फिजियोथेरापी, जेनेरल सर्जरी सेवा संचालन गरिने भएको छ । त्यसैगरी दन्त रोग, एक्सरे, भिडियो एक्सरे, इसिजी, बालरोग, रगत जाँच, मोनोरोग, नाक, कान घाँटी लगायतका समस्याको विशेषज्ञ डाक्टरहरुद्धारा उपचार गरिने निजामती कर्मचारी अस्पताल काठमाण्डौले जनाएको छ ।
शिविरमा सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा तत्काल गरिने र थप उपचार गर्नुपर्ने भएमा सिभिल अस्पताल काठमाण्डौमा रिफर गरि निशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाईएको छ ।

आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका विपन्न नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै शिविर संचालन गर्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभएको छ । शिविरमा पर्वत जिल्लाका विभिन्न पालिकाका साथै छिमेकी जिल्ला स्याङ्जाका नागरिकहरुले समेत सेवा लिन सक्ने भएका छन् । शिविरमा उपचारका लागि आउने बिरामीहरुलाई आवश्यक सवैजसो औषधी पनि निशुल्क वितरण गरिने भएको छ ।

Back to top button